साहस उर्जाले असोज ६ गतेदेखि ७० करोडको आइपीओ निष्कासन गर्दै

Posted on: 14 Sep, 2021

भदौ २९, काठमाडौं । साहस उर्जा कम्पनीले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार आइपीओ असोज ६ गते निष्कासन भइ छिटोमा असोज १० गते र ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीलाई इक्रा नेपालले इक्राइनपि आइआर डबल बी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा जोखिम रहेको देखाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एआइबीएल एस क्यापिटल कम्पनी रहेको छ ।

कम्पनीले सोलुखुम्बुको खोलुदुधकुण्ड नगरपालिका र थुलुङदुधकोसी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । आयोजनाले आगामी जेठ महिनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!