खुल्न थाले राजधानीका सङ्ग्रहालय

Posted on: 14 Sep, 2021

भदौ २९, काठमाडौं (रासस)। नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो । सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ ।

 नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मङ्गलबार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले राससलाई जानकारी दिनुभयो । हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिनुभयो । महानगरले पैसा नदिएपछि  सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!