दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

Posted on: 15 Sep, 2021

भदौ ३०, काठमाडौँ (रासस)। स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप  परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३  स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च हुनेछ ।

मुलुकका बेरोजगार युवावर्गलाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्वीस सरकारबाट अनुदान प्राप्त हुनलागेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्माले राससलाई बताउनुभयो । सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औँल्याउँदै परियोजनाबाट युवावर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेशागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग–व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परिसयोजनामार्फत कार्यान्वयन हुने उहाँले बताउनुभयो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा महाशाखा प्रमुख शर्मा र यहाँस्थित स्वीटजरल्याण्डका कार्यबाहक राजदूत सिल्भाना हगले हालै हस्ताक्षर गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!