नेपाली सेनामा प्राविधिक तर्फका लागि ४६४ जनालाई रोजगारी अवसर

Posted on: 16 Sep, 2021

भदौ ३१, काठमाडौँ । नेपाली सेनाले ४६४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा ४६४ जना कर्मचारी माग गरेको हो ।

जंगी अड्डाले रिक्त रहेका ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी पदमा खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।जंगी अड्डाले जारी गरेको सूचना अनुसार योग्यता पुग्ने इच्छुक व्यक्तिले २०७८ भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म र दोब्बर दस्तुर सहित सातदिन थप गरी कात्र्तिक ०१ गतेदेखि कात्र्तिक ०७ गतेसम्म कार्यालयमा दरखास्त पेश गर्न सक्नेछन् ।

दरखास्त पेश गर्ने अन्तिम मिति २०७८ भदौ ३१ गतेसम्म १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ । तर, नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिको हकमा भने ३५ वर्ष उमेर पुरा नभएसम्म बढीमा ३ पटक आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिले स्वयम् उपस्थित भई रु. १० को टिकट टाँसी दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम नारायणहिटी स्थित श्री नेपाल क्याल्भरी उत्तर तर्फको खेल मैदानमा वितरण गरिने र सोही स्थानमा दरखास्त फाराम पेश गर्नुपर्ने छ । दरखास्त फाराम बुझाउँदा नेपाल बैंकको खाता नम्बर ००१०१००००००००१००१००१ मा कार्यालय कोड ३४५०१३५१३ र राजश्व शिर्षक नम्बर १४२२४ मा जम्मा गरी त्यसको सक्कल भौचर तथा प्रतिलिपि १/१ प्रति दरखास्त फाराम सँगै पेश गर्नुपर्नेछ ।

सबै ट्रेडका प्रा.सुका लागि ४००, सबै ट्रेडका प्राविधिक जम. का लागि ३०० र सबै ट्रेडका प्रा.अम, अमल्दार कर्मचारी र पुजारी हुद्दाका लागि रु. २०० दरखास्त दस्तुर लाग्नेछ । तर, सोही विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समुहको लागि २० प्रतिशत का दरले थप दस्तुर लाग्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!