बजेट आश्रित दुई विधेयक प्रमाणित

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौँ ‌। सभामुख अग्‍निप्रसाद सापकोटाले बजेट आश्रित दुई विधेयक प्रमाणित गरेका छन्। संघीय संसद्‌का दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सभामुख सापकोटाले मंगलबार प्रमाणित गरेका हुन्।

ती विधेयकहरु अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधिसभामा उत्पत्ति भई, नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसद्‌का दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज प्रमाणित गरेका हुन्।

सभामुखद्वारा प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने जनाइएकाे छ ।ती विधेयकहरु प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच सोमबार राष्ट्रिय सभा बैठक र असोज ७ गते बसेको प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!