कोरोना बीमाको भुक्तानी प्रक्रिया सुरु हुने

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौं। सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयका अनुसार, कोरोना बीमाको भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधनका बारेमा पनि छलफल गरेका हुन्। विभिन्न बीमा कम्पनीले बीमितहरूलाई कोरोना बीमाको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ।

यसमा सरकार, बीमा समिति, पुनर्बीमा कम्पनीलगायतको दायित्व छ। सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दबाब परेपछि मन्त्री शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।

कोरोना बीमा दाबी भुक्तानीका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!