आर्थिक बर्षमा लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

Posted on: 30 Sep, 2021

असोज १४,काठमाडौँ । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख रुपैयाँ राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । सङ्कलित राजस्वमा आयकर ९७ करोड २८ लाख रुपैयाँ, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख रुपैयाँ र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल  २६ करोड ६१ लाख रुपैयाँ र भदौमा  १२ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!