बुद्धभूमिको आईपीओ बाँडफाँट गर्ने तयारी, आवेदन ३६ गुणा बढी

Posted on: 06 Oct, 2021

असोज २०, काठमाडौं | बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण सेयर बाँडफाँट गरिने तय भएको हो ।

बुद्धभूमिले ११ असोजबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार जना आवेदकबाट दुई करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन माग गरिएकोभन्दा ३६ दशमलव १८ गुणा बढी हो ।  

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आईपीओलाई  ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले औसतभन्दा कम जोखिम व्यहोर्न सक्ने कम्पनी भएको जनाउँछ । बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव ९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!