गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

Posted on: 23 Oct, 2021

कात्तिक ६, बुटवल | भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरु सिधै लुम्बिनी आउँथे । 

पर्यटकहरुको सिधा आगमन नेपालमा रोक्नका लागि भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न खोजेको पर्यटन व्यवसायी सन्जय बजिमय बताउँछन् । 

भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरुले प्रत्यक्षरुपमा बढी फाइदा लिन सक्थे । 

चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने  भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएर चार वर्षबितिसकेको छ । तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन । करिव ३१ अर्व लागेको यो आयोजना ढलाई हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरु बताउँछन् । विमानस्थल आयोजनाले करिव ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । तर विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुराको टुंगो छैन । आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौता अनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरु नआउँदा समय लागेको बताए । 

सञ्चालनपुर्व गरिने परीक्षण उडानको पनि टुंगो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरेको छ ।  भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिंदा परीक्षण उडान हुन सकेको छैन । नेपालमा विमानस्थल निर्माणमा ढिलाई हुनु र सीमा नजिकै ठूला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एण्ड ट्राभल एजेन्टका प्रवन्ध निर्देशक समेत रहेका बजिमयको तर्क छ ।

‘नेपालले विमानस्थल समयमै निर्माण गर्न नसक्नु र भारतले बौद्ध क्षेत्रमा धमाधम विमानस्थल बनाउनुले भारतलाई फाइदा पुग्ने देखिन्छ’ , उनले भने । श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ५० जना सन्त तथा प्रतिष्ठित व्यक्तिहरुलाई लिएर आएको जहाजलाई अवतरण गराएर कुशीनगर अन्र्ताष्ट्रिय विमानस्थलको उदघाटन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!