सोलुखुम्बुमा अर्बौंको व्यापार हुँदा कर शून्य

Posted on: 15 Sep, 2016

भदौ ३०, सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ)मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ, तर त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् । 

यसको मुख्य कारण हो कर नतिर्ने काइदा । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक करोडौँको व्यापार गर्दा पनि कर नतिरेको पाइएको छ । 

नाम्चे र खुम्जुङ गाविसमा ३२१ वटा होटल तथा लज रहेको गाविस सचिव विनोद बस्नेतले जानकारी दिनुभयो । ती होटलले वार्षिक करिब रु एक खर्बको कारोबार गर्छन । तर कारोबारबाट राज्यले भने ‘करिब शून्य’ कमाइ गरेको छ । राज्यको तर्फबाट व्यवसायीलाई सहज बाटो नबनाइदिएका कारण कर तिर्न नसकेको व्यवसायीहरुको भनाइ छ । 

बजार नियन्त्रण, भौतिक पूर्वाधार निर्माणजस्ता कुरामा राज्यको उपस्थिति शून्य रहेकाले राज्यलाई कर तिर्न व्यवसायीले कर तिर्न नचाहेको स्थानीय व्यापारी लामाकाजी शेर्पा बताउनुुहुन्छ । “राज्यले निभाउनुपर्ने दायित्व पूरा नगरेसम्म एकोहोरो कर मात्र तिर्न हामी बाध्य छैनौँ,” उहाँले भन्नुभयो । आफूहरुलाई राज्यले अन्याय गरेको उहाँको आरोप छ । 

त्यहाँ एउटा अन्डाको मूल्य रु ७० पर्न जान्छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर रु १४ हजार पछ । “हामी रु १० हजार कर तिर्न यहाँबाट लुक्लासम्म हिँडेर जानुपर्छ । त्यहाँबाट हवाई जहाजमा काठमाडौँ अनि मोटर चढेर लहान, यो त अन्याय भयो हैन ?,” शेर्पाले आक्रोश व्यक्तगर्नुभयो । 

सगरमाथा क्षेत्र पर्यटकको आकर्षक गन्तव्य हो । अत्यन्तै महँगो व्यापार हुने त्यस क्षेत्रमा सामान्यतया नेपाली पर्यटकको पहुँच छैन । हवाई यातायात एक मात्र विकल्प भएको उक्त क्षेत्रमा सामान ढुवानी अत्यन्तै महँगो छ । बर्सेनी चार महिना मात्र व्यापार हुन्छ । बाँकी समय ढोका थुनेर व्यवसायी काठमाडौँ लाग्छन । तर पनि चार महिनामै अर्बौं व्यापार हुने ती होटललाई करको दायरामा ल्याउन सकिएको छैन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!