सडक निर्माणको बजेटमा दलीय भागबण्डा

Posted on: 01 Dec, 2016

ठेक्का स्यूकृत गर्न दलको सिफारिस

नरी बडु, मंसिर १५ बैतडी   ।
जिल्ला विकास समिती बैतडी अन्तरगत संचालित सडक निर्माण आयोजनाको बजेट ठूला राजनीतिक दल र नेतालाई भागबण्डामा बाडफाँड गरेको छ ।

जिविसले बिकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) बाट डेढ करोड बराबरको खरीद र निर्माणको काम कोटेसन मार्फत दलीय भागबण्डा गरेको हो ।

सडक निर्माण आयोजनाबाट निर्माणाधीन श्रीभावर हाट सडकमा प्रयोग हुने ग्याबिन खरीद, औजार खरीद र कल्भर्ट निर्माणको काम कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपाललाई भागबण्डा गरेको हो ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालका नेताले आफु निकटका सप्लायर्सलाई ठेक्का दिएका छन् । आन्तरिक विवादले कांग्रेसको भागमा परेको कोटेसन वितरण हुन सकेको छैन । 

आयोजना सकिनै लाग्दा राजनीतिक दलको सिफारिसमा कोटेसनमार्फत करोडौं बढीको खरीद भएको भन्दै ब्यवसायी आक्रास व्यक्त गरेका छन् । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ०६२ सालदेखि सुरु भएको आयोजना आउदो डिसेम्बर ०१६ मा सकिदैछ ।  

नेकपा एमाले र तत्कालीन राप्रपा नेपाल को सिफारिसमा मालिका सप्लायर्सलाई ९९ लाख ८२ हजार ४ सय ७० रुपैंयाको ग्याबिन खरीदको जिम्मा दिएको छ । १ करोड भन्दा माथि ठेक्का हुने भएपछि रकम ९९ लाखमा झारेको स्थानीय व्यवसायिहरुको आरोप छ ।

माओवादी केन्द्रको सिफारिसमा ममता सप्लायर्सलाई ९ लाख ९ हजार ४ सय १ रुपैंयाको औजार खरीदको कोटेसन दिईएको छ । नेपाली कांग्रेसमा आन्तरिक विवादका कारण फर्म छनौटमा ढीलाई हुदा उक्त कुरा सार्वजनिक भएको हो । ४२ लाख ९ हजारको लागतमा जिल्लाको कोटिला खोलामा कल्भर्ट बनाउने काम कांग्रेसको  भागमा परेको थियो । कांग्रेसमा दुई समूहले आफु निकटकालाई दिनुपर्ने दबाव दिईरहेको जिविस स्रोले बतायो । 

नेपाल सरकारको २० दशमलव १० प्रतिशत लगानी, एसियाली विकास बैङ्कको २५ दशमलव ७ प्रतिशत र द आपेक फण्ड फर ईन्टरनेसनल डेभलपमेन्ट (ओफेड) को ५५ दशमलव २ प्रतिशत ऋण सहयोगमा आयोजना संचालित छ ।

उक्त आयोजनाबाट अघिल्लो बर्षसम्म १३ किलोमिटर सलेना–मेलौली सडक निर्माण गरिएको थियो । ०६२ मै सुरु गरिएको श्रीभावर हाट सडकको २४ किलोमिटर सडक निर्माणको सम्झौता भएको थियो । आयोजना स्थलमा ५ बर्षअघि खरीद गरेको ग्याबिन जाली फालेको अवस्थामा हुदाहुदै बजेट सक्न मात्रै खरीद गरेको बिगबि एण्ड कम्पनीका संचालक निर्माण ब्यवसायी विकास चन्दले बताए ।

सार्वजनिक सूचना नगरी दलको सिफारिसमा ठेक्का दिएको ठेकेदारहरुको आरोप छ । सडक निर्माणको अन्य काम उपभोक्तामार्फत हुदै आएको छ । प्रावधान अनुसार गाविस सचिवको अध्यक्षतामा गाउ स्तरीय दलका कार्यकर्ता, प्रभावित उपभोक्त, स्थानीय संस्था सम्मिलित गाउ स्तरीय सडक निर्माण समिति गठन गरी कामदारहरुको समूह बनाएर निर्माण गर्नुपर्ने हुन्छ ।

जिविस स्रोतका अनुसार स्थानीय विकास अधिकारी खेमराज बिष्टले दलका प्रतिनिधिहरुसित छलफल गरी खरीदको जिम्मा दिन सल्लाह गर्दै आएका थिए । पार्टीको जिल्ला नेतृत्वमा छलफल नभएर नेताहरुले आफु निकटकालाई दिएपछि विवाद चर्केको हो ।  

समय कम भएको बाहनामा कार्यक्रमको म्याद सकिनै लाग्दा ठूलो परिमाणमा खरीद गरी अनियमितता गरेको ब्यवसायीहरुको गुनासो छ ।  

क्याप्सन : बैतडीको पाटन–पञ्चेश्वर सडक मर्मत हुदै


यस बिषयमा तपाइको प्रतिक्रिया...!