धनगढीलाई अत्याधुनिक सहरमा विकास गर्न दुई ठूला परियोजना कार्यान्वयनको चरणमा

Posted on: 29 Dec, 2016

दिनेश ठकुल्ला/पुस १४, धनगढी । पाँच वर्षमा साढे तीन अर्ब भन्दा बढी रुपैया खर्च गरिने यी आयोजनाको सफलतापूर्वक कार्यान्वयन हुनसके धनगढीको आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमको प्रमुख आर्थिक केन्द्र धनगढीलाई अत्याधुनिक सहरको रुपमा विकास गर्ने उद्देश्यसहित दुई ठूला परियोजना कार्यान्वयनको चरणमा छन् । सहरी विकास मन्त्रालय अन्तरगत क्षेत्रीय सहरी विकास आयोजना र सघन सहरी विकास कार्यक्रम आयोजना कार्यान्वयन हुन लागेका हुन् । 

पाँच वर्षमा साढे तीन अर्ब भन्दा बढी रुपैया खर्च गरिने यी आयोजनाको सफलतापूर्वक कार्यान्वयन हुनसके धनगढीको आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । सडक, ढल, फोहरमैला, व्यवस्थापन, बसपार्कलगायत पूर्वाधार निर्माणलाई केन्द्रीत गरेर आयोजना लागू गरिएका हुन् । एसियाली विकास बैंकको सहयोगमा शहरी विकास मन्त्रालयले लागू गरेको क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढीलाई आधुनिक सहरको रुपमा विकास गर्न ५ वर्षमा २ अर्ब रुपैया भन्दा बढी खर्च गरिने कार्ययोजना रहेको छ । 

यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटमा धनगढीलाई अत्याधुनिक सहरको रुपमा विकास गर्न सघन सहरी विकास कार्यक्रम लागू गरेको छ । यस वर्षमात्र ५० करोड रुपैया खर्च हुने उक्त आयोजना अन्तरगत ३ वर्षमा डेढ अर्ब रुपैया खर्च गरिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले जनाएको छ । यी आयोजनाको सफलतापूर्वक कार्यान्वयन हुनसके धनगढीको मुहार फेरिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताउनुभयो । 

फोहरमैला व्यवस्थापन, पक्की नालीसहितको सडक निर्मँण तथा बजार क्षेत्रमा सौयै बत्ति जडान गरि वातावरणीय रुपमा सफा र सौन्दर्यपूर्ण सहरको परिकल्पना गरिएको उहाँले बताउनुभयो । ठाउँअनुसार सडक चौडा बनाइने तथा फुटपाथ र ढल निकासको व्यवस्था गरिने भएकाले अहिलेजस्तो सवारी चाप र डुवानको समस्या नहुने डिभिजन प्रमुख बोहराको भनाई छ । 

एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिकाका साथै अत्तरिया, कञ्चनपुरको भीमदत्तनगर र झलारी–पिपलाडी नगरपालिकामा लागू भएको क्षेत्रीय सहरी विकास आयोजनाको प्राविधिक डिजाईनका लागि परामर्शदाता नियुक्तिको प्रकृया अगाडि बढेको सहरी विकास कार्यालयले जनाएको छ । 

उक्त आयोजनाको पहिलो चरणमा धनगढीका विभिन्न ठाउँमा गरि ४२ किलोमिटर सडक निर्मँणका साथै फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड निर्मँण गरिने छ । ट्राफिक चोक चौराहादेखि पूर्वतिर मुख्य बजार क्षत्रको ४ किलोमिटर सडकमा फुटपाथ र ढलसहित ३० मिटर चौडा गर्ने कार्यक्रम छ । 

दोश्रो चरणमा ९ किलोमिटर सडक निर्माण गरिने छ । सडक चौडा गर्ने क्रममा थुपै्र ठाउँमा घरहरु भत्काउनु पर्ने छ । यस्तै फोहरमैलाको वर्गीकरण गरि पुनःप्रयोग गर्ने, मुख्या बजारको सडकमा सौर्य बत्ति जडान गर्ने कार्यक्रम रहेको बोहराले बताउनुभयो । ल्याण्डफिल्ड साईड निर्माणका जग्गा हेरिसकिएको र जग्गा प्राप्तिको प्रकृया अगाडि बढेको बताइएको छ । 

आयोजना अन्तरगत डेढ वर्षसम्म गुरुयोजना निर्माण गरिने र त्यसपछि पूर्वाधार निर्माण थालिने सहरी विकास कार्यालयले जनाएको छ । 

यस्तै सघन सहरी विकास कार्यक्रम आयोजनाअन्तरगत चालु आर्थिक वर्षमा मात्रै ५० करोड रुपैया खर्च गरिदैछ । तीन वर्षमा डेढ अर्ब रुपैया खर्च गरिने उक्त आयोजनाको तीन वर्षे टेण्डर यसै वर्ष गर्ने तयारी भईरहेको डिभिजन प्रमुख बोहराले बताउनुभयो । 

आयोजना अन्तरगत संचालन गरिने योजनाको सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले उपमहानगरपालिका भित्र विभिन्न ठाउँमा रिङ रोडसहित ४० किलोमिटर सडक निर्माण गरिने, धनगढी बसपार्कको स्तरोन्नती गरिने, फूलबारीमा नयाँ बसपार्क निर्माण गरिने र पटेलामा थारु संग्रहालय निर्माण गरिने योजना रहेको बताउनुभयो । 

पछिल्लो सयम धनगढी बजार क्षेत्रको साँघुरो सडकले थेग्न नसक्ने गरि सवारी चाप बढेको छ । खोलानालाको अतिक्रमण हुनु तथा ढलको व्यवस्था नहुनुले वर्षायाममा बजार क्षेत्र डुवानमा पर्ने गरेको छ । 

आयोजना कार्यान्वयन भए यी समस्याबाट छुट्कारा पाइने डिभिजन कार्यालयको भनाइ छ । चालु आर्थिक वर्षमै लागू भएका यी आयोजनाको कार्यान्वयनको गति भने सुस्त रहेको छ । यी आयोजनाको कार्यान्वयनले धनगढी सुविधा सम्पन्न शहरको रुपमा विकास हुने भएकाले आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीयबासी, राजनीतिक दललगायत सबैले चासो राख्नुपर्ने सरोकारवालाको भनाई छ । यस्तै हालैमात्र धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण प्रकृया शुरु भएको छ । 

बहुवर्षीय योजना अन्तरगत धनगढी मोहनादेखि अत्तरिया चोकसम्म १४ दशमलव १७ किलोमिटर ६ लेन सडक निर्माणका लागि दुई अर्ब १५ करोड ५० लाख खर्च हुने स्टीमेट छ । यो योजनाले पनि यहाँको विकासमा निकै ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!