अपडेट: डडेल्धुरामा जीप दुर्घटना, एकै गाबिसका ७ जनाको मृत्यु, ५ घाइते

Posted on: 15 Feb, 2017


ललित बोहरा/फागुन ४, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन ।

भागेश्वर गाबिसबाट सदरमुकामतर्फ आउदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमा  र २ जनाको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षयक प्रेम शाहीले जानकारी दिनु भएको छ ।

अनपा ३ को ऐडुङरा र आइतको बीचमा पर्ने ठूलोखोलामा बिहान साढे ११ः३० बजेतिर गाडी दुर्घटना हुदाँ भागेश्वर–४ का गणेश सार्की, भागेश्वर–८ का जयानन्द भट्ट र उहाँका छोरा लक्ष्मण भट्ट, भागेश्वर–५ का कामदेव चटौत र नरपति पाण्डेयको घटनास्थलमै ज्यान गएको हो ।


यस्तै उपचारका क्रममा ज्यान गुमाउनेहरुमा भागेश्वर–५ का दिवाकर पाण्डेय र भागेश्वर–७ का पदमबहादुर मल्ल रहेका डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनुभएको छ । घाइते हुनेमा बगरकोट–४ का गाडी धनी भीम सिंह ठगुन्ना, भागेश्वर–४ का रामेश्वर भट्ट, बैतडीको श्रीकेदार–७ का किशोर भट्ट, भागेश्वर–४ की जानकी भट्ट, भागेश्वर स्वास्थ्य चौकीमा अहेब कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–७ का मदन साँउद रहेका छन । मदन साँउदलाई अन्यत्र रेफर गरिएको छ । गाडी सडक देखि करिब डेढ सय मिटर तल खसेको हो ।

तीब्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ९ वटा सिट पास भएको बोलेरोमा गाडीचालक सहित १३ जना सवार थिए । तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीका साथै स्थानियहरुले उद्धार गरेका थिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!