श्रीमतिलाई अर्कैको गर्भ बोकेको शंका गरेपछि...

Posted on: 15 Feb, 2017

दिनेश ठकुल्ला/फागुन ४, धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडामा युवती हत्या गरेर खाल्डोमा गाडेको घटनामा श्रीमतीले अर्काको गर्भ बोकेको शंका लागेपछि हत्या गरेको खुलेको छ ।  

अभियुक्तले श्रीमतीले अर्काको गर्भ बोकेका शंका लागेकाले हत्या गरेको प्रहरीसंग बयान दिएका छन् । माघ २८ गतेदेखि बेपत्ता जुगेडाकी १६ वर्षीया अञ्जली सिंहको शब मंगलबार खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।  

अञ्जलीका श्रीमान २२ वर्षीय हिम्मत सिंहले माघ २७ गते राति हत्या गरेर घर नजिकै खाल्डोमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्द ठकुरीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयले घटनाबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त सिंहले विहेअघि नै श्रीमतीको पेटमा अर्काको बच्चा रहेको शंकाको आधारमा हत्या गरेको स्वीकार गरे । 

यस्तै, अञ्जलीको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै उनका आफन्त र जुगेडाका स्थानीय महिलाहरुले धनगढीमा प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि आफन्तले बुधबार प्रदर्शन गरेका हुन् । उनीहरुले हिम्मत सिंहको परिवार मिलेर हत्या भएको भन्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइनु पर्ने माग गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!