चन्दननाथ मावि नमुना बनेपछि प्रधानाध्यापक भन्छन् “प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने हो”

Posted on: 11 Jul, 2017


नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय खलंगा बजार नमुना विद्यालय घोषित भएको छ । 

निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जुम्लाको चन्दननाथ मावि खलंगा नमुना घोषित भएको हो । जुम्लाको चन्दननाथ मा.वि खलंगा सहित प्रदेश नम्बर ६ का ११ वटा विद्यालय जिल्लाको निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि घोषित भएका छन् । 

शिक्षा विभागले प्रदेश ६ का ११ विद्यालय सहित देशभरका १ सय ६७ विद्यालयलाई नमुना विद्यालय घोषित गरेको हो । जसअन्र्तगत जुम्लाको चन्दननाथ मा.वि प्रदेश नम्बर ६ को निर्वाचन क्षेत्रगत नमुना विद्यालय घोषित भएको छ । 


नमुना विद्यालय छनोट भएपछि चन्दननाथ मा.वि खलंगाका प्रधानाध्यापक टंक बहादुर महतले आफ्नो विद्यालय नमुना छनोट भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले भन्नुभयो, चन्दननाथ मा.वि लाई जुम्लाकै प्रतिष्ठित विद्यालय बनाउने मात्र हाम्रो उदेश्य होइन । प्रदेश हुदै देशकै नमुना विद्यालय बनाउने अभियान थाल्नेछौ । यसमा सबैको साथ र सहयोग आवाश्यक छ । 

प्रधानाध्यापक टंक बहादुर महत विद्यालयमा हाजिर भएको डेढ बर्षमै उहाको मेहनतले आज सार्थकता पाएको छ । खुसी व्यक्त गर्दै उहाले भन्नुभयो, आगामी दिनमा विद्यालयलाई प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न कुनै कञ्जुसाइ गर्ने छैनौं । मेरो मेहनत र प्रयास निरन्तर रहनेछ, अहिले आफुले विभिन्न क्षेत्रबाट पाएको सहयोग आगामि दिनमा पनि निरन्तर रहोस् । 

यस अघि विद्यालयमाथि लाग्ने गरेका आरोपहरु विद्यालय नमुना घोषितभएपछि सवै मिथ्या रहेछन् भन्ने पुष्टी भएको उहाले तर्क गर्नुभयो ।                    

 के के थिए नमुना विद्यालय छनोटका सातवटा सूचक ?

 शिक्षा विभागले नमुना विद्यालय छनोटका लागि सातवटा सूचकलाई आधार बनाएको थियो । 

मुख्यगरी, माध्यमिक तह ११ र १२ मा पढाइ हुने विषयहरु, विद्यालयसंग भएका जग्गाको प्रयाप्तता, विद्यार्थी अनुपात एसइइ नतिजा, स्थानीय समुदायमा विद्युत इन्टरनेट सुविधा, विद्यालयको अवस्थिति र विद्यालय गाभेर सञ्चालन गर्ने अवस्थाका आधारहरु पूरा गरेका विद्यालय नमुना छनौटमा परेको शिक्षा विभागले जनाएको छ । 

नमुना छनौटमा परेका विद्यालयहरुलाइ विभिन्न सेवा सुविधा यस अघिका भन्दा थप गर्नुका साथै विद्यालयको स्तरउन्नतीको लागि सबै क्षेत्रबाट सहयोग जुटाइने भएको छ ।

नमुना छनोट भएका प्रदेश नम्बर ६ का ११ विद्यालय को को हुन् त ?

निर्वाचन क्षेत्रगत नमुना घोषित प्रदेश नम्बर ६ का ११ वटा विद्यालयहरुमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनमावि, सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय मावि बडाखोली र सुर्खेत बराहतालको जनज्योति मावि बड्डीचौर छनोट भएका छन् । 


यस्तै, प्रदेश नं ६ को दैलेखको हिमालय मावि डाँडीमाडी, सल्यानको जनकल्याण मावि थरमारे र सल्यानकै त्रिभुवन जनता मावि लुहापिङ छनोटमा परेका छन् । 

त्यस्तै रुकुमको राप्ती ज्ञानोदय मावि सिल्ली र त्रिवेणि मावि सिम्रुतु, कालिकोटको महादेव मावि फोइकोट, जुम्लाको चन्दननाथ मावि खलंगा र डोल्पाको आर्दश मावि जुफला नमुना छनोट भएका हुन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!