वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ? ज्ञवाली कति मतले अगाडी ?

Posted on: 02 Aug, 2017

साउन १८, काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ । 

निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । 

यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउने छैनन् । शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । सहायक निर्वाचन अधिकृत घिमिरेका अनुसार शनिबार रातीबाटै मतगणना सुरु हुनेछ । ‘२० गते चुनाव भएपछि सबै मतपेटिका तत्काल संकलन गरेर त्यसैदिन रातिबाट मतगणना हुन्छ,।’ 

वडा नम्बर १९ मा तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्र छन् । ती केन्द्रबाट तीन हजार सात सय ९७ मतदाताले मत खसाल्न पाउनेछन् । 

वडा नं. १९ मा ३,७९७ मतदाता

भरतपुर महानगरमा २७ वटा वडाको मतगणना भइसकेको छ । अब निर्वाचन हुन बाँकी वडा नम्बर १९ र २० को गणना हुनेछ । २७ वटा वडाको अन्तिम नतिजाअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । 

माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । चार हजार ३३१ मतदाता रहेको वडा नम्बर २० मा तीन हजार ३१८ मत खसेको छ । यो वडाको मत गन्न बाँकी छ । त्यस्तै, फेरि मतदान हुन लागेको वडा नं. १९ का तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्रबाट तीन हजार ७९७ जनाले मत खसाल्न पाउनेछन् ।

जलाइयो च्यातिएको मत

पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!