हराएकी प्युठानकि बालिकालाई दुई सातापछि परिवारको जिम्मा लगाईयो

Posted on: 15 Aug, 2017


सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा रहेकी १३ वर्षीया सुमित्रा घर्तिमगरलाई मंगलबार महिला तथा बालबालिका कार्यालय प्यूठानले सरोकारवालाको रोहवरमा बुवा धन बहादुर घर्तिमगरलाई जिम्मा लगाएको हो

स्वर्गद्धारी नगरपालिका–९ जुकेनाकी बालिका यसअघि पनि घरबाट हराउने गरेको बुवा धन बहादुर घर्तिमगरले बताउनुभयो । यस अघि पनि ८/९ पटक घरबाट हराएकी उहाँले बताउनुभयो । 

उहाँले छरछिमेकमा हिडडुल गरिरहने भएकाले आफूहरुले छोरीलाई संरक्षण गरेर राख्न नसकेको बताउनुभयो । धन बहादुरले दोस्रो विहे गरेर श्रीमतिसँगै १० वर्षकी छोरी घर ल्याउनुभएको हो । 

आफ्नो श्रीमतिको मृत्यु भएपछि दोस्रो विवाह गरेको स्थानीय छिमेकी रण बहादुर घर्तिमगरले बताउनुभयो । बालिकाको पहिलेको बुवाको मृत्यु भएको र आमा पनि विरामी रहेको घर्तिमगरले बताउनुभयो । 

बालिका बोल्न नसक्ने र सुस्त मनस्थितीको भएकाले पहिले बालिकाको स्वास्थ्य परिक्षण गर्नुपर्ने राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्ने निकायहरु खोज्नुपर्ने उहाँको भनाई छ । महिला विकास अधिकृत विष्णु कुमारी आचार्यले बालिकाको जन्मदर्ता नबनेकाले पहिला जन्मदर्ता बनाउन अभिभावकलाई सुझाव दिएको बताउनुभयो । 

बालिकाको जन्मदर्तापछि थप सहयोगका लागि पहल गर्ने उहाँले बताउनुभयो । बालिकाको स्वास्थ्य जाँच सँगै शिक्षा र संरक्षणका लागि कार्यालयले पहल गर्ने उहाँले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!