पुलैपुलकै सहर कुश्माबजार

Posted on: 17 Sep, 2017

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ। यसका लागि यहाँको प्राकृतिक सुन्दरता मात्रै होइन, मानव निर्मित संरचनाको पनि उत्तिकै हात छ। छ ओटा अग्ला र लामा पुलका कारण पुलैपुलको सहरको रुपमा कुश्माबजारले अहिले आफ्नो परिचय बनाएको छ।


टाढाबाट हेर्दा, कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ । झट्ट हेर्दा ठूलै उपत्याकाको झल्को दिने यो ठाउँ मोदी र कालीगण्डकी नदीका कारण प्राकृतिक रुपमा विभाजन भएको छ। मोदी उर्जा उत्पादनका लागि प्रख्यात छ भने कालीगण्डकी धार्मिक रुपमा। यिनै दुई नदीले खियाएका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ।


केही अघिसम्म मात्रै यी अग्ला डाँडालाई पुलले जोड्ने परिकल्पना गर्नेहरु समेत धेरैको नजरमा ‘पागल’ सावित हुन्थे। तर २०६७ सालमा नेपालकै अग्लो पुलको नामबाट कुश्मा–ज्ञादी झोलुंगे पुलले प्रख्याति कमाएपछि पर्यटकीय नगरी कुश्मामा अरु पुलहरु थपिँदै गए। एकपछि अर्को गर्दै कुश्माले अग्ला पुलको इतिहास रच्दै गयो। २०७० सालमा कुश्मा–कैया झोलुंगे पुल दोश्रो पुलको रुपमा निर्माण भयो भने २०७३ मा तेश्रो पुलको रुपमा कुश्मा–मुडिकुवा झोलुंगे पुल निर्माण भयो। यो सँगै ३ वटा लामा र अग्ला झोलुंगे पुल निर्माण भइसकेका छन् कुश्माबजारमा।


त्यस्तै कुश्मा–अधिकारीफाँट झोलुंगे पुल समेत गतवर्ष डिटेल सर्भे सम्पन्न भइ यसवर्ष नेपाल सरकारबाट बजेट विनियोजन भइसकेको छ। त्यसको अब तत्काल कार्यारम्भ हुने उपभोक्ता समितिका अध्यक्ष शान्त पौडेल बताउँछन्।


नेपालकै प्राविधिकहरुद्वारा निर्मित कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालमा संचालनमा आयो। यसले समेत आन्तरिक अध्ययन, अवलोकनका लागि आउने पर्यटक तथा वाह्य पर्यतकहरुलाई राम्रै आकर्षण गर्न सफल भएको छ। नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याइएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन्।

यान्त्रिक पुल

यान्त्रिक पुल


पर्यटकलाई नै लक्षित गरेर गतवर्षदेखि निर्माण प्रारम्भ गरिएको कुश्मा–नेपाने साहसिक पुल तथा बञ्जी यस वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम अघि बढिरहेको छ। एसियाकै दोश्रो अग्लो बञ्जीको रुपमा निर्माण भइरहेको सो साहसिक पुल नदीदेखि २१५ मिटरको उचाइमा निर्माण भएका कारण वैदेशिक पर्यटकहरुको रोजाइमा पर्ने संचालक राजु कार्की बताउँछन्।


निर्माणाधीन र निर्माण सम्पन्न भएका ६ वटा लामा र अग्ला पुलका कारण कुश्माको पर्यटकीय सम्भावना उघ्रिएको छ। व्यापारिक हवको रुपमा विकास हुन नसकेपछि पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै यहाँ ठूला–ठूला होटल निर्माण भइरहेका छन्। यहाँका अग्ला र लामा पुल प्रेमिल जोडीहरुका लागि समेत गतिलो गन्तव्यको रुपमा विकास भइरहेका छन्।


‘पुलका कारण यहाँको पर्यटन वृद्धि भइरहेको छ, अब कुश्मालाई पर्यटकीय सहरको रुपमा विकास गर्नुको विकल्प छैन,’ पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने भन्छन्, ‘हामीले पर्यटकलाई लक्षित गरेर भौतिक संरचना निर्माण गर्न र पर्यटकमैत्री बन्न सोही अनुसारको व्यापार व्यवसाय गर्न स्थानीय तथा व्यवसायीहरुलाई आह्वान गरेका छौं।’


पुलका तीन स्वाद


कुश्माबजारको मुख्य आयस्रोत पर्यटन बन्दै जाँदा स्थानीयहरु पनि नगरलाई कसरी पर्यटकीय रुपमा विकास गर्न सकिन्छ भन्ने कुरामा सचेत र जागरुक देखिन थालेका छन्।


कुश्माबजारमा रहेका तीन प्रकारका प्रविधिका पुलहरुबाट तीनै प्रकारका स्वाद लिन सकिन्छ। कुश्मा–ज्ञादी, कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुंगे पुलबाट विभिन्न प्राकृतिक दृश्यावलोकन गर्दै नेपालकै अग्ला र लामा पुल तरेको अनुभव बटुल्न सकिन्छ। यी सबै पुलमा नेपाल सरकारकै लगानीमा निर्माण सम्पन्न भएका हुन्। नेपालकै प्राविधिकहरुले निर्माण गरेको नेपालकै पहिलो कुश्मा–बलेवा यान्त्रिक पुलबाट केवुलकारमा यात्रा गरेको अनुभव बटुल्न सकिन्छ। यो पुल केवुलकार मोडेलमा निर्माण गरिएको छ। सुरक्षित कारहरु तारमा झुण्डाइएका छन्, जहाँ कारभित्र बसेर तारको माध्यमबाट वारिपारि गर्न सकिने प्रविधि यसमा जडान गरिएको छ। यसको एउटा कारमा ८ जनाले एकैपटक यात्रा गर्न सकिन्छ भने यसमा २ वटा कारहरु जडान गरिएका छन्। यो पुल पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रले लगानीमा बनेको हो।


कुश्मा-ग्यादी झोलुंगे पुल

कुश्मा-ग्यादी झोलुंगे पुल


त्यस्तै गतवर्षदेखि निजीस्तरबाटै निर्माण प्रारम्भ गरिएको कुश्मा–नेपाने बञ्जीसँगै साहसिक पुल समेत निर्माण हुने क्रममा छ। यसमा बञ्जी जम्प, स्विङलगायत साहसिक पुल निर्माण गर्ने गरी काम भइरहेको छ। माथि टाँगिएका तारहरुमा तल कोक्रो झैं झुण्डाइएको हुनेछ यो पुल। पुलको तल्लो भागमा छ्याङ्गै देखिने काँच राखिने छ। कम्पनीका संचालक राजु कार्कीका अनुसार यो पुल सहजै जो कोहीलाई तर्न समेत गाह्रो पर्छ। विशेषगरी विदेशी पर्यटकहरुलाई लक्षित गरेर यो साहसिक ह्याङ्गिङ पुल निर्माण गर्न लागिएको हो। यो पुल तथा बञ्जी यसवर्षको अन्तसम्म संचालनमा आउने निर्माण कम्पनीले बताएको छ।


यसरी कुश्मा आउने पर्यटकहरुले दृश्यावलोकन सहित अग्लो तथा लामो पुलको मज्जा, केवुलकारको मज्जा र ह्याङ्गिङ (कोक्रे) पुलको मज्जा गरी तीन फरक फरक स्वाद यी पुलबाट लिन सकिनेछ ।


कस्ता पर्यटक आउँछन्

दिनमा आन्तरिक पर्यटकका अलावा विदेशी पर्यटक र समूह, संस्था तथा विद्यालय, कलेजको भ्रमणहरुले पुल क्षेत्र व्यस्त रहेको देखिन्छ। कुश्माबजारका पुलमा मूलतः तीन प्रकारका पर्यटक आकर्षित हुँदै आएका छन्।


कुश्मा-मुडिकुवा पुल   अध्ययन/अवलोकन तथा मनोरञ्जनात्मक पर्यटक

पहाडी श्रृङ्खला, खोँच, चट्टान, पवित्र नदी लगायतका प्राकृतिक सौन्दर्यतासँगै फिस्स हाँसेका हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिने, तथा हरियाली भूबनोट, समथर उपत्याझैं थपक्क बसेको, मिलेको जमिनका कारण अवलोकन गर्न आउने पर्यटकहरु समेत प्रशस्त हुन्छन्। त्यसमा पनि लामा र अग्ला पुलको प्रविधि, यान्त्रिक पुल, साहसिक पुल लगायतका संरचनाहरुको अध्ययन, अवलोकन र मनोरञ्जन गर्न आउने पर्यटकहरु पनि वृद्धि भइरहेका छन् । पोखराबाट नजिकै हुनाले र मुस्ताङ जानेआउने बाटो परेका कारण पनि अध्ययन, अवलोकन र मनोरञ्जनका लागि यात्रा गर्नेहरुका लागि एउटै खर्चमा कुश्मामा झरेर अवलोकन गर्न र मनोरञ्जन गर्न सकिन्छ।


पछिल्लो समय मनोरञ्जनका लागि मात्र नभएर जीवनको अन्त्य गर्न चाहनेहरुले पनि अग्ला पुललाई रोज्न थालेका छन्। स्थानीयदेखि लिएर अन्य जिल्लाका जोडीले नै पुलबाट हाम फालेर आत्महत्या गरेका छन्। हालसम्म अग्ला पुलबाट आधा दर्जन बढीले आत्महत्या गरिसकेका छन्।


धार्मिक पर्यटक

बारम्बार हुने दुर्घटनाका कारण मुक्तिनाथ दर्शनका लागि आउने–जाने हिन्दु धर्माबलम्वीहरुको रोजाइमा सडकमार्ग पर्ने गरेको छ। मुस्ताङको मुक्तिनाथ, वेनीको गलेश्वरधाम, महारानीथान, बागलुङको कालिका मन्दिर, पञ्चकोट धाम, कुश्माको गुप्तेश्वर, अलपेश्वर, कुश्मा कालिका, शिवालय, दुर्लुङकोट दर्शन गर्न आउने तथा पुराणमा वर्णित मोदीवेणी दीव्यधाम दर्शन गर्न आउने पर्यटकहरुको आवातजावत गर्ने बाटो परेका कारण कुश्मामा झरेर पुल हेर्ने दशर्कहरु बढ्न थालेका छन्।


कुश्मा-मुडिकुवा पुल

कुश्मा-बलेवा पुल

पर्यटकहरु कतिपय दिउँसोको खाना कुश्मामा खाएर पुल अवलोकन गर्ने त कोही बेलुका बास बसेर बिहान पुलको अवलोकन गरी फर्कने गरेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ बताउँछन्।


साहसिक पर्यटक

कुश्माबजारसँगै रहेको कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्न सकिन्छ। यहाँ वर्षाका केही दुई महिनाबाहेक अन्य समयमा विदेशी पर्यटकहरुलाई ¥याफ्टिङ गर्न ल्याइने गरिएको छ । वार्षिक हजारौं पर्यटकहरु जलयात्राको मज्जा लिन्छन्। उसो त दुर्लुङकोटबाट बेलाबेलामा प्याराग्लाइडिङ पनि संचालन गरिन्छ। यसको व्यवसायिक संचालनका लागि समेत युवाहरु लागि परिरहेका छन्। त्यसैगरी साहसिक बञ्जी, स्विङ निर्माणको अन्तिम चरणमा छ। त्यसपछि साहसिक पर्यटकहरुले समेत कुश्मा भरिभराउ हुनेछ। यी साहसिक खेल तथा संरचनाहरुका कारण कुश्माको पर्यटन उकालो लाग्ने अपेक्षा लामो समयदेखि फोटो पत्रकारिता गर्दै आएका युवा पत्रकार आरके अदिप्त गिरी बताउँछन्। उनी भन्छन्, ‘साहसिक पर्यटनले कुश्मालाई विश्वसामु चिनाइरहेको छ । तर साहसिक पर्यटनले कुश्माको शीर झन् उँचो बनाउने छ।’


कुन पुल कहाँ?


कुश्मा–ज्ञादी झोलुंगे पुल

नेपालकै अग्लो र लामो पुलको रुपमा ख्याति कमाएको कुश्मा–ज्ञादी झोलुंगे पुल २०६७ सालदेखि संचालनमा आएको हो। यसको लम्बाइ ३ सय ४४ मिटर र उचाई १ सय ३५ मिटर रहेको छ। यो मोदीखोला माथि निर्माण भएको छ।


कुश्मा–कैया झोलुंगे पुल

कुश्मा–ज्ञादी झोलुंगे पुललाई पछि पार्दै निर्माण भएको कुश्मा–कैया पुुल २०७१ भदौदेखि संचालनमा आएको हो। यसको लम्बाइ ३ सय ४७ मिटर रहेको छ भने उचाइ १ सय ५९ मिटर रहेको छ। यो कालीगण्डकी नदीमा निर्माण भएको छ।


कुश्मा–मुडिकुवा झोलुंगे पुल

अर्को लामो तथा अग्लो पुल २०७३ पुसमा संचालनमा आएको हो। यो पुलको लम्बाइ ३ सय ५९ मिटर रहेको छ भने उचाइ १ सय ५५.७० मिटर रहेको छ। यो मोदी खोलामाथि निर्माण भएको छ। यो पुल मुक्तिनाथ एण्ड ओम गीता जेभीले १ करोड ७६ लाख ९९ हजारको लागतमा निर्माण गरेको हो।

कुश्मा-बलेवा पुल


कुश्मा–बलेवा यान्त्रिक पुल

नेपाली प्राविधिकद्वारा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि संचालनमा आएको हो। यो केबुलकार मोडलको पुल कालीगण्डकी नदी माथि निर्माण गरिएको छ। पर्वत उद्योग वाणिज्य संघको पहलमा निर्माण भएको यो पुलको लम्बाइ ५ सय ६० मिटर र उचाइ २ सय ९४ मिटर रहेको छ।


कुश्मा–नेपाने बन्जी तथा साहसिक पुल

पर्यटन व्यवसायी राजु कार्की सहितको समूहको करिब १३ करोड लगानीमा निजीस्तरबाट निर्माणाधीन यो पुल यही वर्षको अन्तबाट यसको संचालन हुनेछ। पुलसँगै बन्जी जम्प, स्विङ, रिसोर्ट समेत संचालनको तयारी भइरहेको छ। यो पुल ५ सय २५ मिटर लामो र २ सय २८ मिटरको उचाइमा निर्माण हुँदैछ। कालीगण्डकी नदीमाथि निर्माण भइरहेको यो पुल यस्तो प्रकृतिको झोलुंगे पुलमध्ये विश्वमै सबैभन्दा अग्लो रहेको कम्पनीको दाबी छ।


कुश्मा (खरेहा)–अधिकारीफाँट झोलुंगे पुल

अग्ला पुलहरुले प्रसिद्धि कमाएको कुश्माबजारमा गतवर्ष डिटेल सर्भे सम्पन्न भएको कुश्मा–अधिकारीफाँट पुल यही वर्षको अन्तसम्म निर्माण सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ। यस वर्ष नेपाल सरकारबाट रकम विनियोजन भएको र दशैं पछाडि काम सुरु हुने उपभोक्ता समितिका अध्यक्ष शान्त पौडेलले बताएका छन्। उनका अनुसार यो पुल मोदीखोलामाथि ३ सय ५९ मिटर लामो हुनेछ। यस पुलको कूल लागत २ करोड २० लाख रुपैंया रहेको छ।


राजु पौडेलको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!