पर्वतबाट काँग्रेसलाई १० हजार मतले पछार्ने बामगठबन्धनको यस्तो छ तयारी- भिडियो सहित

Posted on: 30 Oct, 2017

पर्वत । स्थानीय तहको चुनावमा निकै विरोधीका रुपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र पछिल्लो समयमा मिल्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि माओवादी र एमालेको संयुक्त गठबन्धन बनेपछि त्यसको प्रभाव देशभर देखिएको हो । पर्वतका माओवादी र एमालेका शिर्ष नेताहरुले कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरी एकले अर्कोलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दुबै पार्टीको तर्फबाट उमेदवारलाई भोट हाल्न हिचकिचाउन नहुने भन्दै कार्यक्रममा प्रशिक्षण दिएका छन् । एमाले र माओवादीबीचको बाम गठबन्धन योजनालाई सफल पु¥याउने उद्देश्यले आयोजित बृहतकार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले माओवादीले सूर्य चिन्हमा र एमालेले हसियाँ हथौडा मतदानगर्न संयुक्त रुपमा आह्वान गरेका हुन् ।
नेकपा एमाले पर्वत काठमाडौं सम्पर्क मञ्च र माओवादी केन्द्र पर्वत काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा गरी यस्तो बताएका हुन् ।
एमाले पोलिटब्यूरो सदस्य बेदुराम भूषालले नेपाली क्रान्तिले एउटा चरण पार गरेको बताए । उनले देश सामान्ति युगबाट पूँजीबादीयुगमा पु¥याउन दुई पुस्ताखर्च भएको र अब समाजवादउन्मुख अर्थतन्त्र निमार्ण गर्ने अबको दायित्व भएको बताए ।

भूषालले अब समाजवादतर्फ जाने शक्तिले मुलुकको नेतृत्वलिने समय आएको धारणा राखे । “अहिलेको बाम एकता सोही नेतृत्व निमार्णकालागि हो । यो आजको आवश्यकता भएकाले एमाले माओवादी कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ,” उनले भने ।
एमाले केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय बिभागका प्रमुख बिजय गुरुङ्गले बाम एकता ऐतिहासिक भएको बताउँदै यसको सफलतामा मात्रै बामपन्थीहरुको भविश्य उज्ज्वल हुने बताए । उनले पर्वतमा लामो समय देखि कांग्रेसको दबदबा रहेको अवस्थामा बामपन्थीहरुको चट्टानी एकताले मात्रै तोड्न सक्ने भएकाले त्यसका लागि सबै नेता कार्यकर्ताहरु दृढ संकल्पित भएर लाग्नुपर्छ बताए ।

एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले अहिलेको वाम एकतापछि निर्वाचन गठबन्धनका उमेदवारले जिति सकेको बताउँदै त्यसको औपचारिक घोषणा गर्न मात्रै रहेको बताएका छन् । उनले एमाले र माओबादी केन्द्रका उमेदवारहरुले गठबन्धनको पक्षमा इमान्दारपुर्वक मतदान गरेमा कांग्रेसलाई पर्वतबाटै बिदा गर्ने दिन नजिक आएको भन्दै सबै इमान्दर भएर लाग्न आब्हान पनि गरे ।
भेलालाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष पदम गिरीले टोल टोलमा भएको अन्तरबिरोध हटाएर दुबै पार्टीका उमेदवारलाई जिताउन एक जुट हुनुपर्ने बताए । “बामशक्ति बीचको एकताले श्रमजिवी जनतालाई उत्साहित र गौरवान्वित बनाएको छ,” उनले भने, “निर्वाचनमा मुखमा आएको बेला भोली बामएकता गर्ने उद्देश्य लिएको छ । यसलाई सफल पार्न कार्यकर्ताको साथ हुनुपर्छ ।”

त्यस्तै, माओवादी नेता उमकान्त भूर्तिलले नेतृत्वले खास समयमा कुनै निर्णय लिनुपर्ने र यो उपर्युक्त समय भएको बताए । उनले पनि विगतको तिक्तता हटाउँदै माओवादीले एमालेको र एमालेले माओवादीको कार्यकर्ता भएको मान्नुपर्ने बताए ।

त्यस्तै एमाले निवर्तमान सांसद विकास लम्सालले बाम एकतापछि पर्वतमा आफूहरुको जित सुनिश्चित भएको बताए । उनले भने, “बाम एकताले सबै कार्यकर्तामा उत्साह छाएको छ । हामीले जितिसकेका छौं । अब, १० हजारभन्दा बढी मतले जित्नुपर्ने जिकिर गरे ।”
माओवादी पोलिटब्युरो सदस्य नेत्र अधिकारीले बाम एकताले आमकार्यकर्ता र नेपालीमा उत्साह छाएको बताउँदै सबै पक्षलाई जिताउन लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा निवर्तमान सांसद कल्पना चापगाईँले बामशक्तिको एकता देखेर बिरोधी अत्तालिएको बताउँदै सबैलाई एक हुन आग्रह गरिन । कार्यक्रमकको अध्यक्षता गरेका एमाले पर्वत काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण गदालले बाम गठबन्धनले एकजुट भएर सांसदमा बहुमत ल्याउँदै सरकार निमार्ण गर्नुपर्ने बताए ।
सम्पर्क मञ्चका उपाध्यक्ष शिव पौडेलले नेतृत्वले देशलाई समृद्ध बनाउन कम्युनिष्ट जनता र कार्यकर्ताको भावना बुझेर अगाडि बढेको बताए । उनले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

गत स्थानीय तहको निर्वाचनमा पर्वतमा नेपाली काङ्ग्रेसले २९ हजार १२ मत, नेकपा एमालेले २९ हजार ३ सय ९० र माओवादी केन्द्रले ५ हजार ८ सय ९४ मत पाएका थिए । अन्य दलले भने ५ सय मत कटाएका छैनन् । यस अधारमा पर्वतमा वाम दलको कूल मत ३५ हजार २ सय ८४ छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ७२ मत बढी हो । आगामी निर्वाचनका लागि पर्वतमा १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन् । जसका कारण पनि बामपन्थी गठबन्धनले यसपाली पर्वतमा काँग्रेसको गण भत्काउने दाउमा रहेको देखिन्छ ।

भिडियोमा हेर्नुहोस्



यस बिषयमा तपाइको प्रतिक्रिया...!