व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?

Posted on: 15 Nov, 2017

कात्तिक २९, काठमाडौँ । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । 

औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । अाजको नयाँ पत्रिकामा खबर छ-उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।

सरदर दुई महिना मिहिनेत गरेका किसानलाई तिरेकोभन्दा चार गुणा बढाएर उपभोक्तालाई बिक्री 

धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् । संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् । ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन् । किसानले ५० रुपैयाँ प्रतिकिलोमा बेचेको काउली कालिमाथीको थोक बजारमा मंगलबार बिहान ५ बजे ९० रुपैयाँ प्रतिकिलोमा काठमाडौंका साना बजार, पसल र ठेलागाढामा राखेर बिक्री गर्ने व्यवसायीले खरिद गरेका थिए ।


थोकमा ९० रुपैयाँ पुगेको काउली कालिमाटीकै खुद्रा बजारमा बिहान ७ बजेबाट प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भएको थियो । कालिमाटीबाट टाढा रहेका उपभोक्ताले यो मूल्य पनि पाउँदैनन् । कालिमाटीबाट तरकारी लैजाने साना खुद्रा व्यापारीले ढुवानी खर्च, पसल भाँडा, ज्याला लगायत जोड्छन् । जसकारण उपभोक्ताको भान्सासम्म पुग्दा काउली झन् महगिन्छ । मंगलबार बिहान ९ बजे ललितपुरको भैंसेपाटीस्थित एक तरकारी पसलमा काउली १ सय ४० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गरेका छन् ।

तरकारी कम आएको छैन

मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए । व्यापारील आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए । विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो । 

थोकमा प्रति ५ किलोका दरले सबै तरकारी उपलब्ध थिए । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले मागअनुसार आपूर्ती नहुँदा मूल्य बढेको भन्ने दाबी झुट भएको बताउँछन् । ‘व्यापारीले भनेको मूल्य हाल्छु भन्दा जुनसुकै तरकारी पनि पाइन्छ, कम मूल्यमा मात्र नपाइएको हो’ उनले भने ।

थोक व्यापारीले मूल्य तोक्छन्

केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्यको अनुगमन गर्न पुगेको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका कर्मचारीले थोक व्यापारी भेला भई खुद्राका लागि मूल्य तोक्ने गरेको भेटाएको छ । ‘थोक व्यापारीले एक ठाउँमा भेला भई मूल्य तोक्ने र खुद्रामा पाउने गरेका अनुगमनबाट देखिएको छ’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने ।

यस्तो छ मूल्य श्रृङ्खला

१) किसानले आफ्नो बारीमा औषतमा २ महिना लगाएर तरकारी उत्पादन छन् । तरकारी बजारमा पहुँच बिहिन किसानले स्थानिय संकलन केन्द्रले तोकेको दर भाउमा तरकारी बेच्छन् । जुन भाउले किसानको मेहनत पाउँदैनन् । 

‘हरेक दिनजसो आँखै अगाडी आफ्नो उत्पादन आधा नाफा खाएर व्यवसायीले विक्रि गर्छन, हेरेर बस्नुको विकल्प छैन । तरकारीको मुल्य पनि व्यापारीले नै निर्धारण गर्छन् । प्रतिबाद गरौं भने तरकारी विक्री हुँदैन, नबेचौं जिविका चल्दैन’ धादिङस्थित धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजल गुनासो गर्छन् ।

२) स्थानिय संकलन केन्द्रले तरकारी बिक्री हुने सहरी क्षेत्रमा प्रतिकिलो १ देखी ५ रुपैयाँ नाफा लिएर पठाउँछन् । गाउँको संकलन केन्द्रले यसका लागि कुनै लगानी गरेका छैनन् । सडकको पेटी वा चोकको छेऊमा त्रिपाल ओछ्याएर तरकारी राखिएको हुन्छ । बेलुका ट्रक आएर तरकारी सोही ठाउँबाट उठाउँछन् । गाउँका संकलन केन्द्रबाट उपभोक्तालाई तरकारी बिक्री गर्ने थोक व्यापारी होइन, विभिन्न बजारमा तरकारी बिक्री गर्ने व्यवसायीसँग सम्पर्क भएका ठूला थोक व्यापारी कहाँ पुग्छ ।

३) काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै कालिमाटी बजारमा तरकारी आइपुग्छ । ट्रक र कन्टेनरमा आउने तरकारी ठूला थोक व्यापारीले स्टल लिएर बसेका अन्तिम थोक व्यापारीलाई दिन्छन् । ठूला थोक व्यापारीले पनि स्टल राखेका छन् । दुवै व्यापारीको प्रत्यक्ष भेटघाट हुने भएका कारण नाफाको दर आपसी समझदारीमा तय गर्छन् ।

४) कालिमाटीमा स्टल लिएकार केही थोक बिक्रेताले सोझै संकलन केन्द्रबाट तरकारी आपूर्ती पनि गर्ने गरेका छन्, तर यस्ता थोकको संख्या कम छ । अन्तिम थोक बिक्रेताले खुद्रामा बिक्री गर्ने तरकारीको भाउ निर्धारण गर्न भेला बस्छन् । र, तराईका विभिन्न जिल्लादेखी उपत्यका आसपासका जिल्लादेखी ल्याएको तरकारीको परिमाण र ढुवानी लागतसबै हिसाब गरी प्रचुर नाफा राखेर खुद्राका लागि थोक मूल्य गर्छन् ।

५) उपभोक्तालाई तरकारी उपलब्ध गराउने पसले, ढेलागाढा संचालक, साना तरकारी बजारका व्यवसायीलगायत प्रत्येक दिन बिहान कालिमाटीको थोक बजार पुग्छन् । त्यहाँ आलू, प्याज प्रतिबोरा, गोलभेडा प्रति क्यारेट र अन्य तरकारी ढक (प्रति पाँच किलो) मा बिक्री हुन्छन् । त्यहाँबाट खरिद गर्नेले उपभोक्तालाई आफैले निर्धारण गरेको भाऊमा बिक्री गर्छन् ।

६) खुद्रा पसलेकहाँ पुगेर दिनुहँ बार्गिनिङ गरी तरकारी खरिद गर्नु उपभोक्ताको नियति बनेको छ ।

व्यापारीले मूल्य बढाएका हुन्: कुमारप्रसाद दाहाल

महानिर्देशक, आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग

२४ कात्तिक राती १२ बजे विभागको अनुगमन टोली कालिमाटी पुगेर अनुगमन गरेको थियो । त्यसक्रममा झापाको काकडभिट्टबाट ७ हजार ५ सय किलो काउली, भिण्डी, परवल र भेन्टा समान ११ रुपैयाँ ५० पैसा प्रतिकिलोमा व्यापारीले खरिद गरेको बिल भेट्टाएका छौं । ती तरकारी काठमाडौंको बजारमा प्रतिकिलो १ सय रुपैयाँ भन्दा बढी मूल्यमा उपभोक्ताले खरिद गर्नुपरेको स्थिति छ । 

कृषि मन्त्रालयका कर्मचारीले मागअनुसार आपूर्ती नहुँदा मूल्य बढेको भन्ने दाबी गर्नुभएको छ । काठमाडौंमा १०–१५ प्रतिशत कम आपूर्ती जुनसुकै बेला हुने गरेको देखिन्छ र अहिले पनि सोही परिमाणमा कमी आएको हो । 

हाम्रो अनुगमनले आपूर्तीका कारण नभई व्यापारीले मनोमानी मूल्य तोक्ने प्रवृत्तिका कारण मुल्य बढेको देखाएको छ । त्यसैले तरकारी जस्तो अत्यावश्यक बस्तुको मूल्य निर्धारणमा व्यापारीलाई खुल्ला छाड्नुको सट्टा सरकारले हस्तक्षेप गर्नु आवश्यक देखिन्छ ।

सरकारको सामान्य पहल

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले आइतबार बैठक डाकेर तरकारीको मूल्य आकासिएको बिषयमा छलफल गरेका थिए । उनले मूल्य अस्वभाविक वृद्धि भएकाले नियन्त्रणका लागि अनुगमन गर्न, दैनिक मुल्यसूचीको रिपार्टटिङ दिन, मूल्य निश्चित तहभन्दा माथी जान थालेपछि सजग हुने प्रणाली विकास गर्न निर्देशन दिएको बताए । ‘एक हप्तासम्म हेरौं, त्यसपछि पनि मूल्य घटेन भने छलफल राख्छु’ उनले भने ।

गत शुक्रबार अनुगमनकारी निकाय आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले कालिमाटी बजारको अनुगमन गर्यो । खरिद र बिक्री मूल्य संकलन गरिएको छ । तर, मूल्य नियन्त्रणका लागि कुनै पहल भएको छैन । ‘कालिमाटीको मूल्य हेरियो, अब किसानले पाउने मूल्य कस्तो छ भनेर नजिकका स्थानमा पुगेर अनुगमन गर्ने तयारीमा छौं’ महानिर्देशक दाहालले भने ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले मागअनुसार आपूर्ती नभएको बताउँदै मूल्य बढेको दाबी गरे । उनले व्यापारीले मूल्य तय गर्ने र समितिले निर्धारित मूल्यका बारेमा जानकारी मात्रै गराउन सक्ने बताए । ‘दैनिक ७ सय टन तरकारी आवश्यक पर्छ, अहिले ५ सयदेखी साढे पाँच सय टन मात्रै आइरहेको छ’ उनले भने, ‘आपूर्ती नै कम भएपछि मूल्य बढ्ने भो । अर्कातिर थोक व्यापारीले दिनमै ३–४ पटक मूल्य परिवर्तन गर्छन्, त्यो कुरा बुझिनसक्नु छ ।’

समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहालले बुधबार समितिका पदाधिकारी, उपभोक्ता अधिकारकर्मी र व्यापारीलाई बोलाएर छलफल गर्न लागेको बताए । 

‘संचारमाध्यममा ११ रुपैयाँ ५० किलोमा किसानबाट खरिद गरेको तरकारी बजारमा १ सय ४० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री गरेको कुरा आएको छ, यो अस्वभाविक नै हो’ दाहालले भने, ‘मैले यो बिषयमा बुझ्न भोली (बुधबार) बैठक राखेको छु ।’

कृषि विकास मन्त्री रामकृष्ण यादवले तरकारीको मूल्यवृद्धिका बिषयमा कुरा गर्न चाहेनन् । उनले पछि कुरा गरौंला भन्दै सम्पर्क विच्छेद गरे । त्यसपछि सम्पर्कमा आएनन् ।

के गर्दैछन् आपूर्ती मन्त्री ?

कात्तिक पहिलो साताबाट आपूर्ती मन्त्री सम्हालेका राप्रपा नेता जयन्त चन्दले अनुगमन, मूल्य नियन्त्रणका बिषयमा खासै चासो दिएका छैनन् । बरु उनले आयल निगममा अनियमितता आरोप लागेका गोपालबहादुर खड्कालाई कारबाही गर्न कस्सिएका आपूर्ती सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेका छन. । खड्कासँगकै मिलेमतोमा मन्त्री चन्दले सचिव देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेका हुन् । र, आपूर्ती सचिवमा अनिल ठाकुरलाई ल्याएका छन् । उनी हाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग युएई भ्रमणमा छन् ।

आपूर्ती राज्यमन्त्री शुशिलकुमार श्रेष्ठले मन्त्रालय मातहतको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई तरकारीको मूल्य नियन्त्रण गर्नेगरी अनुगमनमा खटाएको बताए । 

‘तीन दिनअघि राती १२ बजे विभागले तरकारीको मूल्य नियन्त्रणका लागि अनुगमन गरेको छ’ उनले भने, ‘त्यसबाट किसानले लिएको र उपभोक्ताले तिर्ने गरेको मूल्यमा ठूलो अन्तर देखिन्छ । यसलाई न्यूनीकरण गर्न हामी लागिरहेका छौं ।’ उनले अनुगमन भएयता तरकारीको मूल्य बिस्तारै सस्तिन थालेको पनि दाबी गरे ।

कालिमाटीमा तरकारी कम आएको छैन

मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए । व्यापारीले आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए । 

विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो । थोकमा प्रति ५ किलोका दरले सबै तरकारी उपलब्ध थिए ।उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना मागअनुसार आपूर्ति नहुँदा मूल्य बढेको भन्ने दाबी झुट भएको बताउँछन् । ‘व्यापारीले भनेको मूल्य हाल्छु भन्दा जुनसुकै तरकारी पनि पाइन्छ, कम मूल्यमा मात्र नपाइएको हो,’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!