खोटाङमा पालिका केन्द्र राख्ने स्थानको बिषयमा बिवाद, तीन वडाले दिए सामुहिक राजिनामा

Posted on: 23 Dec, 2017

चिसाङ शेर्पा/पुस ८, खोटाङ । दिप्रुङ गाउँपालिकाको कार्यालय राख्ने स्थानका बिषयमा बिवाद हुंदा तीन वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । 

सेवाग्राहीलाई पायक पर्ने स्थानमा पालिकाको केन्द्र हुनपर्ने अडानका साथमा दिप्रुङ गाउँपालिका १ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री, वडा नं.२ डाडाँगाउका वडाध्यक्ष भिम बहादुर खत्री र टेम्मा ७ का वडाध्यक्ष धन बहादुर मगरसहित १४ जना जनप्रतिनिधिले शुक्रबार साँझ पाँच बजे पालिका प्रमुख भुपेन्द्र राई समक्ष सामुहिक राजिनामा दिएका छन् ।  

राज्य पुनसंरचना आयोगले अस्थाई रुपमा २०७३ साल फागुनबाट सप्तेश्वर छितापोखरी ५ तृतिया भञ्ज्याङमा तोकिएको पालिकाको केन्द्र विबादितरुपमा सञ्चालन भईरहेको थियो । 

अपायक, जंगलमा भएको र पालिकाका स्थानियलाई पायक पर्ने केन्द्रको कार्यालय डाडाँगाउँ वा सप्तेश्वर छितापोखरी ५ नाराङगामा पालिकाको केन्द्र हुनपर्ने मागसहित उनीहरुले राजिनामा दिएका हुन् । पालिकाको ४ वटा वडा दिपु्रङडाडाँको रोशाभञ्ज्याङमा तथा ३ वटा वडा डाडाँगाउँ वा सप्तेश्वर छितापोखरी ५ नाराङगामा केन्द्र हुनुपर्ने माग राखेर असहमतिमा छन् ।

स्थानिय सरकार शासन सञ्चालन सम्बन्धि ऐन २०७४ अनुसार पालिकाको केन्द्र र नाम ६ महिनामा टुङगो लगाईसक्नु पर्ने प्रावधान भएकाले पालिकाले विहीबारदेखी पालिका केन्द्रको विषयमा सभा सञ्चालन गरेको थियो । 

दुईदिनको सभा केन्द्रको टुङगोमा नपुगी चरम बिवादित भएपछी पुस १० गते २ बजेसम्मका लागि सभा स्थगित गरिएको पालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो । 

कानुन अनुसार पुस अन्तिममा केन्द्रको टुङगो लगाईसक्नुपर्ने छ । उनले भने, ‘शनिबारदेखी पुस १० गतेसम्म राजनीतिक दल, असन्तुष्ट पक्षलाई समेट्न ब्यापक प्रयास गरिनेछ । सहमतीमा नआए विधि र प्रक्रियामा केन्द्रको टुङगो लगाईनेछ ।’  


यस बिषयमा तपाइको प्रतिक्रिया...!