यस्तो रह्यो डा. केसीको अदालतमा ८ घण्टा र हिरासतमा १२ घण्टा

Posted on: 10 Jan, 2018

पुस २६, काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । 

सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै बसे । उनी अनशनमै रहेकाले दुई चिकित्सक पनि औषधिसहित सँगै थिए । उनीहरूले केसीको ब्लडप्रेसर जाँच गरिरहेका थिए । 

केसी अदालतभित्र प्रवेश गरेपछि बाहिर समर्थक र शुभचिन्तकको भिड लागेको थियो । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

१०:३० मा अदालतको इजलास खुल्यो । तर, ११ बजेसम्म केसी आराम गरेर बसिरहे । ११ बजे इजलास नम्बर २ मा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे उपस्थित भए । 

केसी अस्वस्थ भएकाले आधा घन्टासम्म इजलास अघि बढ्न सकेन । साढे ११ बजे न्यायाधीशसमक्ष बयानका लागि उनी तयार भए । करिब डेढ घन्टापछि १ बजे ‘टिफिन ब्रेक’मा डा. केसी आराम गरेर बसे । २ बजेबाट पुनः इजलास सुरु भयो । ४ बजेसम्म बयान लिएपछि इजलास बन्द भयो । 

केसीलाई इजलासबाट निकालेर ४: १५ बजे प्रहरी एम्बुलेन्समा राखियो । त्यहीँ उनको प्रेसर चेकजाँच गरियो । ५ः१५ बजेसम्म एम्बुलेन्समै राखियो । त्यसपछि केसीलाई लिएर प्रहरीको एम्बुलेन्स वीर अस्पताल पुग्यो ।

त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा. गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो । नेपाल प्रहरी अस्पतालको एम्बुलेन्समा प्रहरीका चिकित्सक टोली पनि साथैमा थिए । 

केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!