राष्ट्रपति/उपराष्ट्रपतिमा पनि लबिङ सुरु, विद्या भण्डारी कि झलनाथ खनाल ?

Posted on: 16 Jan, 2018

माघ २, काठमाडौं । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ । 

निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको छ ।

राजधानी दैनिक लेख्छ- वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीले आन्तरिक गृहकार्य मजबुद बनाएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीव्र पारेका छन् ।

राष्ट्रपति भण्डारीले केही दिनअघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका लागि डिनर पार्टी आयोजना गरेकी थिइन् । एमाले र माओवादी केन्द्र पार्टी एकताको क्रममा रहेको र दाहाल एकतापछिको पार्टी अध्यक्ष हुने सम्भावना रहेको अवस्थामा भएको डिनर पार्टीलाई कतिपयले राष्ट्रपतिको पुनः दोहोरिने इच्छास्वरूप दाहालसँग नजिकिने योजनाका रूपमा चित्रण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने पक्षमा सकारात्मक देखिएका छन् । तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति÷उपराष्ट्रपतिका साथै सभामुख÷उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएका छन् । खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएका छन् । 

पार्टी एकतापूर्व भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति हुने गरी गृहकार्य भएको थियो । पछिल्लो समय नेता नेपाल राष्ट्रपति भन्दा पार्टीमा सक्रिय राजनीति गर्ने पक्षमा रहेको उनी निकटका नेताहरू बताउँछन् ।

माओवादी केन्द्र भने प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटा एमाले र एउटा माओवादीले बाँड्नुपर्ने र राष्ट्रपति र सभामुख दुई संवैधानिक निकायसमेत एक÷एक वटा बाँडफाँट गर्नुपर्ने पक्षमा छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!