प्रहरी र आन्दोलनकारीबीच झडप, दिपायलमा सेना परिचालन

Posted on: 21 Jan, 2018

माघ ७, काठमाडौँ । दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए । 

घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । घाइतेको राजपुरस्थित महाकाली मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोटी बन्दको २५औं दिन आज पनि जारी छ । 


क्षेत्रिय शिक्षा निर्देशनालयको भवनमा आन्दोलनकारीले तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीकाबीचमा झडप भएको हो । शुक्रबार सिलगढीमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

क्षेत्रिय प्रशासनमा कालो झण्डा

आन्दोलनकारीले ७ नम्बर प्रदेशको क्षेत्रिय प्रशासन कार्यालयमा कालो झण्डा गाडेका छन् । क्षेत्रिय प्रशासनसँगै क्षेत्रिय कार्यालयमा कालो झण्डा गाडेका छन् । दिपायल देखी सुरु भएको ¥याली क्षेत्रिय प्रशासन कार्यालयमा पुगेर कोणसभा गर्नुका साथै कालो झण्डा गाडेका थिए । 

आन्दोलनकारीले आज सिलगढी, दिपायल, राजपुर र बुडर बजारमा प्रर्दशन गरे । सरकारले मागको सुनुवाई नभएसम्म आन्दोलन जारी संर्घष समितिका संयोजक नरेन्द्र खड्काले बताए ।

पहाडी जिल्लाको यातायात ठप्प

७ नम्बर प्रदेशका पहाडी जिल्लाको यातायात पूर्णरुपमा ठप्प छ । प्रदेश राजधानी माग गर्दै आएका आन्दोलनकारीले पहाडी जिल्लाको प्रबेशद्धारको रुपमा रहेको डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजार बन्द गरेसँगै पहाडी जिल्लाको यातायात अबरुद्ध बनेको हो । 

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले वेवास्ता गरेका कारण निर्णायक आन्दोलन स्वरुप बुडरमा बन्द गरेको संघर्ष समितिका संयोजक दुर्गादत्त ओझाले बताए ।

प्रेस र एम्बुलेन्स माथि निगरानी

संर्घष समितिले प्रेस तथा एम्बुलेन्सलगायतका सवारी साधन चल्न रोक नलगाएको बताए पनि आन्दोलनकारीले प्रेस तथा एम्बुलेन्स माथि पनि निगरानी बढाएका छन् । 

आन्दोलनकारीले प्रेस लेखिएका गाडीमा पनि परिचय–पत्र चेक गर्ने, नविकरण मिति सकिए वा नसकिएको चेक गर्ने गरेका छन् । एम्बुलेन्समा विरामी भए वा नभएको, विरामी रिफर गरिएको वा नगरिएको वा विरामीको अवस्थाबारे कागजात हेरेर मात्रै आवतजावत गर्न दिएका छन् ।

सुरक्षा व्यवस्था कडा

शुक्रबार सिलगढीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले उच्च सर्तकता बढाएको छ । विभिन्न जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी डोटीको सुरक्षार्थ खटाइएको छ । 

दिपायल र सिलगढी सुरक्षार्थ करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनकारीले प्रहरीमाथि पनि आक्रमण उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

अघोषित सेना परिचालन

डोटीमा अघोषितरुपमा सेना परिचालन गरिएको छ । सेना परिचालनको विषय जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले अस्वीकार गरे । 

तर, सिलगढीमा झडप भएपछि आज साँझबाट सिलगढी तथा दिपायल बजारमा सेनाले गस्ती गरिरहेको छ । सेना परिचालन बारे प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ, उहाँहरुको नियमित कार्यक्रम हुन सक्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!