सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए

Posted on: 31 Jan, 2018

माघ १७, काठमाडौं । ललितपुरको फुलचोकी डाँडाबाट हराएका किशोर ७ दिनपछि सकुशल भेटिएका छन् । 

ललितपुर थसिखेलको अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ गएको बिहीबारदेखि हराइरहेका थिए । उनको व्यापक खोजी भए पनि भेटिएका थिएनन ।


प्रहरीका अनुसार उनी गोदावरीको जंगलमै भेटिएका हुन् । महानगरिय प्रही वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालका अनुसार जोनलाई सुरक्षाकर्मीको सहयोगमा जंगलबाट ल्याइएको छ ।

कक्षा पाँचका विद्यार्थी र प्राचार्यसँगै हिउँ खेल्न गएका ६ कक्षाका जोन फर्कने क्रममा गत बिहीबार दिउँसो हराएका थिए । फूलचोकी डाँडामा पुगेर ओरालो झर्दा उनी हराएका हुन् । विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए ।

रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए । प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँचजनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए । तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन् ।

विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए । 

तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएका थिएनन् । उनी हराएदेखि नै सुरक्षाकर्मी, अभिभावक तथा स्थानीय वासिन्दा खोजीमा जुटेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!