राष्ट्रियसभा चुनावमा मतदान जारी (फोटोफिचर)

Posted on: 07 Feb, 2018

माघ २४, काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । 

प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नुभएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ । 


छवटा प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, प्रदेश नं १ को विराटनगरस्थित वीरेन्द्रसभा गृहमा, प्रदेश नं ३ को ललितपुर महानगरपालिका–४ को कार्यालयमा र प्रदेश नम्बर ४ को कास्की जिल्लाको पोखरास्थित लोकसेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान शुरु भएको छ । 

प्रदेश नम्बर ५ को दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवन केन्द्रमा मतदान शुरु भएको छ । 


निर्वाचन आयोगका उपसचिव महेशराज तिम्सिनाका अनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । 

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुने छ भने दलित एक, अपांग भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् । 


प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहनुभएको छ । 

प्रदेश नम्बर २ का आठ वटै सदस्य निर्विरोध निर्वाचित हुनुभएकाले अब बाँकी छ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । 

निर्वाचन आयोगका उपसचिव तिम्सिनाले मतदान कार्य आज दिउँसो ३ बजेसम्म हुने जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!