राष्ट्रपति भण्डारी आजबाट ट्वीटरमा, यस्तो छ उनको पहिलो ट्वीट

Posted on: 09 Apr, 2018

चैत २६ काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ । 

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !” 

संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ । 

सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!