राष्ट्रपति रनिङ्गशिल्डले उब्जाएका सवालहरु

Posted on: 25 Apr, 2018


‘कार्यक्रमको आयोजना र संरचनाहरु हेर्दा लाग्थ्यो कार्यक्रम सक्नका लागि नै गरिएको हो र हतार हतारमा आयोजना गरिएको हो । जसको आभास झण्डाहरु राखिएका अस्तव्यस्त बाँसका बाङ्गाटिङ्गा डण्डाहरुले नै बोलिरहेका थिए ।’

                                                                                                                                                                                                        – प्रभात सुवेदी

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बर्दियामा सोमबार मात्रै दशौं जिल्ला स्तरीय अन्तर मााध्यमिक विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ ।

 

प्रसङ्ग पनि यही नै हो कि विद्यालयमा बालबालिकाहरुका लागि खेलकुद निकै महत्वपूर्ण मानिन्छ । विद्यालयमा मात्रै नभएर अन्य समयमा पनि व्यक्तिका लागि खेलकुद निकै महत्वपूर्ण मानिन्छ । आजभोलि मुटु, फोक्सो लगायत अन्य विभिन्न दीर्घरोग नलाग्नका लागि मुटु स्वस्थ राख्न पनि नियमित रुपमा व्यायाम गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिइरहेका हुन्छन् । खेलका माध्यमबाट बालबालिकाहरुको शारिरीक, मानसिक तथा संवेगात्मक विकासका लगि मद्दत पुग्ने कुरामा कुनै पनि सन्देह छैन । कुरा यत्ति मात्रै हो कि खेलकुदका लागि विद्यालयमा विद्यार्थीहरुका लागि कसरी समयको व्यवस्थापन गरिन्छ वा गरिएको हुन्छ भन्ने हो । 

खासगरी विद्यालयको पाठ्यक्रममा पनि आधारभूत तहमा राखिएको स्वास्थ्य तथा शारिरीक विषयमा पनि शारिरीक शिक्षा अन्तर्गत खेलकुदका विविध प्रकारहरु राखिएका छन् । एथ्लेटिक्स तथा अन्य शारिरीक व्यायमका साथै परापूर्व कालदेखि प्रचलनमा रहँदै आएको योगालाई पनि समावेश गरिएको छ । खेलकुद मानिस हरेक दृष्टिकोणबाट स्वस्थ रहन तथा शारिरीक रुपमा सन्तुलित हुनका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर पाठ पढाउने क्रममा यदाकदा मात्रै बालबालिकाहरुले विद्यालयमा खेलहरुको अभ्यास गर्ने गरेका छन् । यस्ता खेलहरुलाई नियमपूर्वक खेलाउन सकिएमा बालबालिकाहरुको शारिरीक विकास हुनुका साथै विद्यालयप्रति सकारात्मक भावना पैदा हुने कुरामा आशावादी हुन सकिन्छ । तर विद्यालयमा मात्रै पर्याप्त खेलकुद खेल्नका लागि समय पुग्दैन यसका लगि अन्य समयमा पनि बालबालिकाहरुले शारिरीक तन्दुरुस्तीका लागि खेलकुदहरु खेल्नु जरुरी हुन्छ ।  

विद्यालय स्तरका बालबालिकाहरुका बीचमा खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना गरिने पुरानै परम्परा हो । तथापि मुलुकको राजनैतिक परिवर्तनहरुसँगै खेलकुद क्षेत्रमा पनि यसको प्रत्यक्ष असर परेको देखिन्छ । यही असरका कारणले गर्दा कहिलेकाँही विलक्षण प्रतिभावान खेलाडीहरुले अवसर र स्थान नपाएकै कारण गाउँघरका कुनाकाप्चामा थन्किएर बस्नु परेको अवस्था रहेको छ । तत्कालीन समयमा वीरेन्द्र रनिङ्गशिल्डको नाममा सञ्चालन हुँदै आएको विद्यालय स्तरको खेलकुद कहिले खेलकुद मन्त्रालय, कहिले शिक्षा मन्त्रालय त कहिले जिल्ला खेलकुद विकास समिति अन्तर्गत आयोजना गरिने र कहिले राष्ट्रपति रनिङ्गशिल्ड कताकति चाहिँ मेयरकप हुँदै अब प्रदेश सम्म पुग्दैछ । यसको जिम्मेवारी र सञ्चालन विभिन्न समयमा फरक फरक निकायहरुबाट हुँदै आएको कारणले गर्दा अन्यौलता सिर्जना हुनु स्वभाविकै हो ।  

जिल्लामा लुकेर रहेका खेलकुद क्षेत्रका प्रतिभाहरु खोज्नु नै विद्यालय स्तरमा आयोजना गरिने विभिन्न खेलकुदहरुको मुख्य उद्देश्य हो । यस प्रकारका प्रतियोगितात्मक खेलकुदहरुबाट नै राष्ट्रिय स्तरका खेलाडिहरुको छनोट हुन पुग्दछन् । उनीहरुको भविष्य नै चम्किन्छ । चम्किएको पनि छ । उदाहरणका लागि बर्दियाकै खेल प्रतिभाहरु केशरी चौधरी र जयरानी थारुलाई लिन सकिन्छ ।  

कतिपय सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुमा जन्मजात विलक्षण प्रतिभा र रुचीहरु मडारिएर आउने गर्दछ भने कतिपय अवस्थामा बालबालिकाहरुको रुचीलाई ध्यानमा राखी विद्यालयहरुबाट दिइने प्रशिक्षणहरुबाटै निखारिएका हुन्छन् । संस्थागत विद्यालयहरुले त राम्रा प्रतिभावान खेलाडिहरु मात्रै हैन कुनै पनि क्षेत्रमा मेधावी भएका बालबालिकाहरुलाई होस्टल सुविधा सहित निःशुल्क पढाइदिने भनेर राखेका हुन्छन् किनकी यस्ता बालबालिकारु पढाइमा तेज नभएपनि विद्यालयको साख र प्रतिष्ठाका साथै प्रचारप्रसारका लागि माध्यम बन्ने गरेका हुन्छन् । त्यसैले पनि निजी विद्यालयहरुले यस्ता प्रकारका खेलाडिहरु गाउँगाउँमा गएर खोजी खोजीकन भर्ना गरेका हुन्छन् । यसलाई अत्यन्तै सकारात्मक कार्य मान्नु पर्दछ । कमसेकम एउटा विद्यालयले आफ्नो साखको लागि भएपनि विद्यार्थीमा लगानी गर्नु भनेको राम्रो कुरा हो । तर यस कुरामा राज्य पनि उत्तरदायी हुनु पर्ने जरुरी देखिन्छ । 

प्रसङ्ग बर्दियामा शुक्रबार शुरु गरेर सोमबार सकिएको  जिल्ला स्तरीय अन्तर मााध्यमिक विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको हो । हरेक वर्ष पौष वा माघ महिनामा सञ्चालन गरिँदै आइएको यो प्रतियोगिता गत वर्ष पाञ्चजन्य माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न गरिएको थियो । त्यहि समयमा नै गुलरिया नगरपालिका अन्तर्गतका विद्यालयहरुले २०७४ सालको रनिङ्गशिल्ड आयोजना गर्ने गरी झण्डाको जिम्मेवारी सम्हालेका थिए । तर, मुलुकको राजनैतिक परिवर्तन र स्थानीय निकायको संरचना तथा तत्सम्बन्धी नीति नियमहरु नबनेका कारण २०७४ सालको रनिङ्गशिल्ड २०७५ सालमा आयोजना गरिएको कार्यक्रममा बताइएको थियो । तर, खेलकुद जस्तो प्रतियोगिता आयोजना तराई क्षेत्रमा बैशाखमा गर्ने अनुकुल समय नभएको अधिकांश विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा स्वयं आयोजकहरुको भनाइ रहेको थियो । अझ कोही भन्दै हुनुहुन्थ्यो यो हाम्रो वाद्यता हो । प्रदेश स्तरको खेलकुदमा सहभागी पठाउनुपर्ने भएकोले पनि हतार हतार गरेर आयोजना गर्नुपरेको बताइएको थियो । 

कुनै पनि कार्यक्रम गर्दा बजेट सक्न मात्रै हैन कि त्यसबाट कुनै उपलब्धी पनि होस् भन्ने उद्देश्य राख्नु आवश्यक छ । त्यसकारण बैशाख महिना उच्च तापक्रम हुने र टाढाबाट आउने बालकालिकाहरुका लागि बसाई पनि असहज हुने अझ तराईमा गर्मीमा किराकिरी तथा विषालु जीवहरुको डर हुने भएकोले गर्दा झनै अप्ठेरो पर्ने भएकोले जिल्ला खेलकुद  विकास समितिले बैशाख महिनामा आयोजना गरेको खेलकुद त्यति व्यवहारिक नभएको सहभागी शिक्षकहरुको राय थियो । अझ खेलकुद आयोजना स्थाल जिल्ला खेलकुद विकास समितिको कवर्ड हलदेखि झण्डै ५ किलोमिटर टाढा गुलरियाका विभिन्न विद्यालयहरुमा खेलाडीहरु बस्नुपर्ने भएको हुँदा आवत जावतमा निकै सास्ती भएको देखियो । पैदल नै खेलमैदान सम्म पुग्नु पर्दा उनीहरुको उर्जा क्षति भएकोले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् । 

कार्यक्रमको आयोजना र संरचनाहरु हेर्दा लाग्थ्यो कार्यक्रम सक्नका लागि नै गरिएको हो र हतार हतारमा आयोजना गरिएको हो । जसको आभास झण्डाहरु राखिएका अस्तव्यस्त बाँसका बाङ्गाटिङ्गा डण्डाहरुले नै बोलिरहेका थिए । अझ विद्यालयका झण्डा त व्यवस्थि तगर्न सकिएन लौ मानौ तर राष्ट्रिय झण्डा, ओलम्पिक झण्डा र जिल्ला खेलकुद विकास समितिको झण्डाको हालत पनि उही अवस्थामा थियो । यति मात्रै कहाँ हो र, केही शिक्षकहरु झण्डा देखेर हासिरहनुभएको थियो कारण बुझ्दै जाँदा गत वर्षको झण्डा त दुब्लाएछ भन्दै हुनुहुन्थ्यो । ओलम्पिक झण्डा पनि मापदण्ड विनाको थियो । समग्रमा हेर्दा व्यवस्थापकीय र प्राविधिक पक्ष निकै फितलो देखिएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले खेलप्रतिको उदासिनता हो कि के भएर हो फिल्ड भरिभराउ हुनुपर्नेमा त्यसो नभएको भन्नुहुँदै औपचारिकता मात्रै भएकोमा यसमा पनि विकृतिको सुधारलाई औंल्याउनुहुँदै भविष्यमा यस्तो नहुनका लागि आफूले पनि आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । प्रदेश उपसभामुख प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वहाँले पन िमौसम अनुकुल नभएको बताउनुभएको थियो । जिल्लाभरबाट उत्साहजन सहभागिता हुनुपर्नेमा जम्मा २१ विद्यालयका ३ सय २७ खेलाडीहरु सहभागिता हुनुले अलि लाजमर्दो स्थिति बनाएको थियो । 

यसरी राष्ट्रपति रनिङ्गशिल्डमा फितलो सहभागिताको कारण भनेको विद्यालयमा पठनपाठन नभएको अवस्था भर्खरै मात्र शैक्षिक शत्र २०७४ को नतिजा प्रकाशन भएर विद्यार्थीहरु घरमा नभएको अवस्था पनि एकातिर हो भने विद्यालयमा भर्ना अभियान पनि चलिरहेको अवस्था भएको कारणल पनि न्यून सहभागिता भएको सबैको आँकलन थियो । अझ नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख नै उद्घाटन समारोहमा उपस्थित नहुँदा वहाँको तथा नगरपालिकाको खेलकुदप्रति वेवास्ता हो कि भनी टिप्पणी समेत गरिएको थियो । खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले मौसम अनुकुल नभए पनि जिल्लाभरी कहाँ कहाँ कुन कुन विधाका खेलाडीहरु छन् हामीलाई थाहा भएकोले उनीहरुलाई बोलाएर आयोजना गरेको बताउनुभएको थियो । तर, यसरी बोलाएर प्रतियोगिता गर्दा कयौं मेधावी बालबालिकाहरु अवसरबाट वञ्चित हुन्छन् भन्ने कुरा पनि हेक्का राख्नु जरुरी हुन्छ । यो कुरालाई वहाँले बिर्सेको जस्तो लाग्यो ।

 

जे जसरी भएपनि बर्दियामा दशौं जिल्ला स्तरीय अन्तर मााध्यमिक विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ तर अब एघारौं प्रतियोगिता दशौं जस्तो फितलो नहोस् । नीतिनियम, विनियम, प्रणाली तथा नयाँ संरचना र अधिकारलाई जोडेर खेलाडि छनोटका नाममा बेमौसमी बाजा बजाएजस्तो गरेर खेलकुद प्रतियोगिता आयोजना नगरियोस् । 

दशौं राष्ट्रपति रनिङ्गशिल्डले उठाएका उपरोक्त सवालहरुको सहज निकास खोज्दै  सबै प्रतिभावान बालबालिकाहरुलाई समान अवसर प्रदान गरी समतामूलक खेलकुद प्रतियोगिताको आयोजना गरियोस् भन्दै अहिलेलाइ अस्तु । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!