रत्नपार्कमा काग सम्मेलन गरियो

Posted on: 05 Nov, 2018

कात्तिक १९, काठमाडौं | काग तिहारको अवसर पारेर सोमबार काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । 

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर काग सम्मेलन गरेका हुन् । 


राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि ३ सयभन्दा बढि कागहरु रत्नपार्कमा जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष काग तिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आएका छन् । 

त्यस अवसरमा दुलालले आफूले संविधान नबन्दा संविधान सभा र भारतले नाकाबन्दी लगाउँदा भारतीय दुतावास घेराउ गर्न पनि काग बोलाएको स्मरण गरे । 

दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारंगी, पियानो, ड्रमसेटलगायतका बाजा तथा विभिन्न अन्य चराहरुको पनि आवाज निकाल्ने गर्दछन् ।


 तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइन्छ । कागलाई सूचना संवाहकको स्मरण गर्दै काग तिहारको दिन मिठा कानेकुरा खुवाउने गरिन्छ । कागलाई यमदूतको रुपमा पनि लिने शाष्त्रीय मान्यता रहि आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!