धौलागिरीका चारै जिल्ला हिउँले सेताम्मे [भिडियो सहित]

Posted on: 04 Jan, 2020



हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । गत शुक्रबार देशभरका अधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातसँगै चिसो ह्वात्तै बढ्यो  तर कृषकहरु भने हिमपातसँगै खुसि भएका छन् । हिमपात भएपछि सिचाइको अभाव भएका उच्च पहाडी भेगका कृषकहरु हिउँदेबाली राम्रो हुने भन्दै हर्षित भएका हुन् ।

पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिमपात परेको हो।

हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँडाहरू सेताम्मे भएका छन् । जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरूमा बाक्लो हिउँ परेको छ ।

जलजला गाउँपालिका ९ बनौका वडा अध्यक्ष गौ बहादुर पुनले हिमपात भएसँगै कृषकहरु खुसि भएको बताए । गत वर्ष पनि यसै समयमा हिउँ परेको थियो । अहिले पनि हिउँ परेको छ । हिउँसँगै हिउँदे अन्नबाली राम्रो हुने भन्दै स्थानीय कृषक खुसि भएका छन् उनले भने ।

बनौं आलु उत्पादनको पकेट क्षेत्र हो । हिउँ परेस्रँगै आलु कृषकहरु भने सिचाई भएको र उत्पादन राम्रो हुने भन्दै खुसिभएका छन् ।  त्यहाँ तरकारीको लागि पनि राम्रो क्षेत्र मानिन्छ । बनौसँगै जलजलाका लेखफाँट, शालिजा, बाँसखर्क, हम्पालको लेक हिउँले सेताम्मे भएका छन् । त्यस्तै मोदी गाउँपालिकाको क्याङ, भुकताङ्ले, माटेको लेक, चित्रेको पञ्चासेमा पनि हिउँ परेको छ । हिउँ परेसँगै कृषकहरु हर्षित बनेका छन् । मोदीको क्याङ र भुकताङ्ले आलु र तरकारी उत्पादनको लागि राम्रो क्षेत्र मानिन्छ ।

फलेवास नगरपालिकाको चिसापानी, डहरेको लेकमा पनि हिमपात भएको छ । जिल्लाका अधिकांश उच्च क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण कतिपय ग्रामीण बस्तीहरुको जनजीवन भने प्रभावित भएको छ । दिउँसो देखि परेको हिमपातका कारण पशु चौपायहरु र वालबालिका बढि प्रभावित भएका छन ।

धौलागिरीका चारै जिल्लामा भारी हिमपात भएको छ । बागलुङ, ्रम्याग्दी , मुस्ताङमा पनि भारीमात्रामा हिमपात भएको छ । हिमपातले मुस्ताङ सेताम्मे बनेको छ भने बागलुङ र म्याग्दीको माथिल्लो भाग सेताम्मे बनेका छन् । हिउँ परेसँगै कृषकहरु खुसि भएका छन् भने हिउँ खेल्नेहरुको उच्च पहाडी भेगमा भीड लागेको थियो ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!