जग्गा विवाद सम्बन्धी मुद्दा अदालतमा सबैभन्दा बढी

Posted on: 17 Jul, 2016

प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।


पञ्चवर्षिय योजना अन्तर्गत दोस्रो वर्षमा ९ सय ७८ मुद्दाको लक्ष्य राखिएकोमा गत वर्षको पर्छौट हुन बाँकी २ सय ७६ र यस वर्षको जम्मादर्ता भएका ७ सय २६ मुद्दाहरु गरी कूल १ हजार २ ओटा मुद्दाहरु रहेकोमा २०७३ असार मसान्तसम्म ६ सय ४६ मुद्दाको फैसला भै सकेको र ३ सय ५६ मुद्दाहरु अझै फैसला हुन बाँकी रहेकोमा ती मुद्दाहरुको लगत आ.व. २०७३/७४ का लागि स्थानान्तरण गरिने जानकारी गराइएको छ । 

बर्दिया जिल्ला अदालतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै बर्दिया जिल्लाका न्यायधीश लोकजङ्ग शाहले जिल्लामा राष्ट्रिय निकुञ्ज तथा प्रशासनका मुद्दाहरुका कारण मुद्दाको संख्या बढ्न गई लक्ष्य अनुसार फैसला हुन नसकेको जानकारी गराउनुहुँदै ६ महिनासम्म एक जना मात्रै न्यायधीश हुनुभएका कारण समय लागेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी क्रमिक रुपमा जग्गा विवादका, सम्बन्ध विच्छेदका र जवरजस्ती करणीका मुद्दाहरु परेको समेत उहाँले जानकारी दिनुभयो । 


जग्गा सम्बन्धी विवादमा सिमा सम्बन्धी, विवाह सम्बन्धीमा प्रेम विवाह र अन्तरजातिय विवाह र वैदेशिक रोजगारीमा जाने श्रीमान वा श्रीमतीका मुद्दाहरु पर्ने गरेको बताउनुभयो । अतिरीक्त न्यायधीश रमेश शर्मा पौडेलले पछिल्लो समयमा व्याप्त मोवाईल तथा इन्टरनेटमा रहेकाअश्लील साईटका कारणले स्कूल तथा कलेजका विद्यार्थीहरुमा बढी यौनिक कृयाकलापहरुका कारणले बालबालिकाहरुको मुद्दा बढी पर्ने गरेको बताउनुभयो । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई जेल नपठाउने कानुनी व्यवस्था भएकोले बाल सुधार गृहहरुमा पठाइने गरिएको जानकारी गराउनु भएको थियो । 

वैदेशिक रोजगारमा जाने श्रीमान वा श्रीमतीहरुको सम्बन्ध विचछेदका मुद्दाहरु पर्ने गरेको श्रीमान वा श्रीमतीले विदेशमा कमाएको पैसाले श्रीमान भए श्रीमती, श्रीमती भए श्रीमानले फजुल खर्च र पर-पुरुष वा परस्त्रीसँग सम्बन्ध राखेका कारणले गर्दा पनि यस प्रकारका मुद्दाहरुको संख्या बढ्दै गएको जानकारी दिइएको थियो । 

कार्यक्रममा जिल्ला स्थित विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत २ दर्जन भन्दा बढी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!