बाहुलीगाडमा भिषण बाढी, बझाङ सदरमुकाम जोखिममा

Posted on: 17 Jul, 2016


सम्राट सिंह | बझाङ ३१ असार |  सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको छ । दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको छ । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल बगाएको छ । पुल बगाउदा पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका छन ।  

पानीको बहाव नघटेकाले नजिक रहेका घरहरु पनि भत्किने अवस्थामा पुगेका छन । बाहुली गाड आसपासका घरहरु खाली गरिएका छन । जोखिम बढ्दै गएकोले सदरमुकामबासीलाई सतर्क रहन जिल्ला दैविप्रकोप उद्धार समितिले स्थानिय रेडियोबाट सचेत गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, नेपाली सेनाका सेनानी आफै खटेर स्थानियलाई सुरक्षित स्थान तर्फ जान अनुरोध गरिरहेका छन । 


सम्भावित जोखिमलाई ध्यान राखेर व्यापक प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनालाई पनि सर्तक अवस्थामा राखिएको छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरमा जोखिम रहेको छ । खोलाको पानीको मात्रा बढेर बहाव परिर्वन गरे चैनपुर बजारमा समेत जोखिम हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन अनुरोध गरिरहेका छन । सदरमुकाम चैनपुरका घर पसल बन्द गरेर बाहुली खोलामा आएको बाढी हेर्न स्थानियको घुइचो लागेको छ । 

बाहुलीगाडको उदगम स्थल तिर पर्ने सुर्मा र दौलिचौर गाविसमा क्षति भएको हुन सक्ने अनुमान गरिए पनि विवरण आइसकेको छैन । १६ वर्ष पछि बाहुली गाडमा आएको यो ठुलो बाढी भएको स्थानियहरुले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!