झापाको अमरपथ सडकखण्ड जलमग्न, यातायात अबरुद्ध

Posted on: 20 Jul, 2016

गौरव पोखरेल | साउन , झापा । गएरातिदेखि परेको अविरल वर्षाका कारण सुरुंगा खोलामा पानीको बहाव बढ्दा झापाको कनकाई नगरपालिका ५, तुलसीबारी चोकबाट माथिल्लो चप्रामारीसम्मको मानव वस्ती डुबेको छ । अहिले तुलसीबारी चोकदेखि चप्रामारीसम्म जलमग्न छ ।

सुरुंगादेखि पूर्वी नाका डिगलबैंक जोड्ने अमरपथ खण्डको करिब १ किलोमिटर कालोपत्रे बाटो समेत पूरै डुबेको छ । पूरै बाटो जलमग्न देखिन्छ । बाटोमा ४ फुटसम्म गरिहाइमा पानी छ । बाटोको केही भाग पानीले बगाएको छ  । 

बाटो जलमग्न भए पछि अमरपथ सडक खण्डमा यातायत समेत अबरुद्ध भएको छ । मोटरसाइकल र साइकल समेत तार्न समस्या भएको छ । बाढी विहान ७ बजेदेखि गाउँमा पसेको स्थानीय श्रीप्रसाद खरेलको भनाई छ । बाटो अबरुद्ध भएपछि विरामी लिएर आएको एम्बुलेन्स समेत अड्किएको छ । करिब ४/५ घरमा खोला पस्न लागेको छ । घरका मानिसहरु सुरक्षित स्थानतर्फ आएका
छन् ।

खोला गाउँ पसेर बाटो समेत अबरुद्ध भए पछि सुरुंगा बजारदेखि झापा चोकसम्म जाने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । बाटोको दुवै तिर करिब २ सय यात्रुहरु बसिरहेका छन् । स्थानीय मोहन बयलकोटीले पानी अझ बढि रहेको बताए । अहिले यहाँ पानी समेत परिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!