विदेशबाट हालसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए ? हेर्नुहोस्

Posted on: 25 Aug, 2020

भदौ ९, काठमाडौं । कोभिड-१९ सुरु भएपश्चात चार्टर्ड उडान मार्फत हालसम्म नेपाल फर्केका मध्ये सवैभन्दा धेरै नेपाली संयुक्त अरव ईमिरेट्स (युएई) बाट स्वदेश फर्केका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को गत भदौ ४ गतेसम्मको तथ्याँक अनुसार युएईबाट १४ हजार ४ सय ८१ नेपाली स्वदेश फर्केका हुन् ।

यसैगरी साउदी अरेवियाबाट ७ हजार ८ सय १७ जना स्वदेश फर्केका छन् । यसैगरी यसबीचमा मलेसियाबाट पनि झण्डै सोही हाराहारीमा नेपाली स्वदेश फर्किए । मलेसियाबाट ७ हजार ७ सय ९५ जना स्वदेश फर्किएको तथ्याँक छ ।

आममाफी पाएर स्वदेश फर्किनेहरुको संख्या ठूलो देखिएको कुवेतबाट ६ हजार ३ सय २९ जना स्वदेश फर्काइएका छन् भनें धेरै नेपाली कार्यरत मुलुक कतारबाट यसबीचमा ६ हजार १ सय ९१ जना नेपाल फर्केका छन् । सवै मुलुकबाट फर्किनेहरुको कुल संख्या ५१ हजार ९ सय ८७ रहेको छ ।

प्रदेशगत रुपमा सवैभन्दा धेरै बागमति प्रदेशका बासिन्दा स्वदेश फर्किएको देखिएको छ । सीसीएमसीको तथ्याँक अनुसार बागमति प्रदेशका १४ हजार ४ सय ८६ जना स्वदेश फर्केका छन् । यसैगरी दोश्रोमा प्रदेश १ का १० हजार ९ सय ६२ जना स्वदेश फर्केका छन् । तेश्रोमा प्रदेश नम्वर ५ का ८ हजार ६ सय ५८, चौथोमा प्रदेश नम्वर २ का ८ हजार ६ सय १८ तथा पाँचौमा गण्डकी प्रदेशका ८ हजार ६ सय ५८ जना स्वदेश फर्किए । यसैगरी कर्णाली प्रदेशका १ हजार १ सय ८४ तथा सुदुरपश्चिम प्रदेशका १ हजार ३ सय ३३ जना स्वदेश फर्किएको देखिएको छ ।

आज देखि नै पुन: उडान शुरु 

मुलुकका विभिन्न भागहरुमा लागेको निषेधाज्ञाका कारण पालिकाहरुले सञ्चालन गरेका क्वारेन्टीनहरुमा पुर्याउन समस्या हुने र होटल क्वारेण्टीन तयार भइनसकेको भन्दै सरकारले झण्डै एकसाता रोकेको नेपालीलाई स्वदेश फर्काउने उडान आज देखि नै सुरु हुँदैछ । विदेशमा समस्यामा परेका नेपालीको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको उद्धार उडानको नयाँ तालिकाअनुसार आज युएईको सारजहाबाट एयर अरेवियाले उडान गर्दैछ ।  

दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर्नेगरि पर्यटन मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो ।  १० गते आवुधावीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट हिमालयन एयरलायन्स र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्ने छन । टर्किस र कतार एयरलाइन्सले एक पटकमा १०० जना भन्दा बढी यात्रुहरु ल्याउन नपाउने भएका छन ।

यसअघि ती एयरलाइन्सहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड मिचेर जहाज भरी यात्रुहरु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी १०० भन्दा बढी यात्रु नल्याउन निर्देशन समेत जारी गरेको छ । यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयले पनि क्लालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्ने छ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने निश्चित भएको छ ।

१४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्ने छन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ । योसँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार उडानका लागि यात्रुहरुले  पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ । तर पीसीआर रिपोर्ट नेगेटिभ रिपोर्ट लिएर आएकाहरु एएरपोर्टबाट सिधै घर गएर होम आइसोलेसनमा बस्न पाउनेछन् ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!