बालबालिकाको सुरक्षामा पनि आजैदेखि ध्यान दिने कि ?

Posted on: 17 Aug, 2016


प्रभात सुवेदी । घटना घटेको दिनदेखि उनलाई राम्ररी खान मन पनि लागेको छैन । आफ्नो कक्षामा रमाइलो गर्ने र खेल्ने साथी गुमाउँदाको पीडा उनलाई मात्र थाहा छ । उनी कतिखेर एकोहोरिन्छिन् । कक्षामा साथी बस्ने स्थान हेर्छिन् । 

न्यास्रो मान्दै आफूलाई बुझाउने प्रयास गर्छिन् बगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरियाको कक्षा दुईमा अध्ययनरत अनिता थापा । उनलाई मात्रै हैन कक्षाकोठाका साथीहरु सबैलाई आफ्नो साथी गुमाउनु पर्दाको पीडा उस्तै छ । तिम्रो साथी लक्ष्मण खै भनेर सोध्दा भित्तामा श्रद्धाञ्जलीका लागि टाँसिएको तस्वीर देखाउँछन् उनीहरु ।

साउन २० गते आफ्नै घरमा टिभी हेरिरहेको समयमा सर्पले डसेर कक्षा दुईमा अध्ययन गर्ने लक्ष्मण थापामगरको जिल्ला अस्पताल गुलरियामा उपचार संभव नभएपछि २१ गते नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा विषको प्रभाव अत्याधिक वृद्धि भएपछि उपचार असफल भएपछि ज्यान गएको थियो । घटनापछि पुरै विद्यालय शोकमा डुब्यो । 

हजुरआमासँग बसेका लक्ष्मणका बाबाआमा भारतको जम्बु काश्मीरमा भएकाले केही दिन शबलाई बरफमा राखिदिने जानकारी प्राप्त भएपछि शबलाई बाकसमा राखियो । उनी आफ्ना बाबाआमालाई पर्खेर त बसे तर बाबाआमासँग अब कुनै पनि अन्तरङ्ग नगर्ने गरेर, चुपचाप कुरिरहे आफूलाई जन्म दिने बाबाआमालाई । 

चारदिन वितेपछि बाबाआमाको आगमनपछि मात्र शबको अन्तिम संस्कार गरियो । लक्ष्मणलाई निकै माया गर्ने कक्षा शिक्षक कृष्णा म्याडम अझै पनि भक्कानिनुहुन्छ । उहाँका आँखा केही दिनसम्म ओभाएनन् । कक्षामा जाँदा पनि लक्ष्मणको यादले सताइरह्यो । 

उहाँको मन अझैपनि बेलाबेलामा भक्कानिरहन्छ । उहाँले मात्र हैन सबै म्याडमहरुले उनको असल बानी र शालीन स्वभावको चित्रण गर्नुभयो । निकै असल, ज्ञानी र इमान्दार रहेछन् उनी । केही दिन अघि मात्रै नयाँ पेन्सिल ल्याएर जया म्याडमलाई देखाउँदा म्याडम खुशी भएर खिचिदिनुभएको तस्वीर नै उनको जीन्दगीको अन्तिम तस्वीर बन्यो । आखिर संयोग पनि कस्तो खै ? त्यही तस्वीर नै उहाँको मोबाइलबाट निकालेर श्रद्धाञ्जलीका लागि प्रयोग गरियो ।

तथापि त्यो तस्वीरमा उनी मात्रै नभएर उनका साथीहरु पनि थिए । साथी अनिताले मित्रभावले अङ्गालोमा बेरेर खिचेको फोटो थियो त्यो । उनीहरुलाई के थाहा र यसरी लक्ष्मणसँग विदाइ हुनुपर्ला भनेर । फोटो हेर्दा उनीहरुको खुशी र उमङ्गलाई गणितीय रुपमा आँकलन गर्न गाह्रो पर्दछ । समय हो मानिस यसैसँग लघारिँदै कहिले कहाँ र कहिले कहाँ भौँतारिरहन्छ । जन्मसँग मृत्यू सुनिश्चित त छँदैछ । तथापि लक्ष्मणको अल्पायुको निधनले हामी सबैलाई मर्माहत बनायो । आखिर उनले कसको के बिगार गरेका थिए र ? 

उनलाई श्रद्धाञ्जली दिनका लगि तयार गरिएको श्रद्धाञ्जली पोस्टर विद्यालयको गेटमा टाँसियो । उनको घरमा पनि पु¥यायौँ । अनि विद्यालयको सामाजिक सञ्जाल फेसबुक पेजमा पनि राखियो । उनीप्रतिको माया र श्रद्धा त्यतिबेला देखियो, जतिबेला फेसबुकमा  उनीप्रति व्यक्त गरिएका श्रद्धाञ्जली र आत्माको चिर शान्तिको कामनाका टिप्पणीहरु आए । सबैको श्रद्धासुमन रह्यो तर विडम्बना के गर्नु उनी फेरि सर नमस्कार ! म्याडम गुड मर्निङ भनी अब कहिल्यै पनि आउने छैनन् । आउने छन् त केबल हाम्रा मन मस्तिष्कका दर्पणहरुमा । 

हामी अभिभावकहरु आफ्नै खाले अनेकन तनाबहरुमा फँसिरहेका हुन्छौँ । बालबालिकाको स्वास्थ्य र जोखिमप्रति त्यति चासो दिइरहेका हुदैनौँ । साउन र भदौ महिना भनेको मौसमी संक्रमणको महिना पनि हो । यतिबेला चारैतिर भाइरलले पनि आक्रान्त पारिरहेको अवस्था छ । 

अनि मौसममा बिस्तारै परिवर्तन हुने अवस्थामा जमिनमा रहेका विभिन्न प्रकारका जीवजन्तुहरुले पनि आफ्नो वासस्थानमा परिवर्तन गर्दछन् । यसरी परिवर्तन गर्ने क्रममा सर्प, विच्छी, खजुर लगायतका विषालु जीवहरु पनि बाहिर निस्किएका हुन्छन् । कुनै पनि जीवजन्तुहरुले अन्य जीवजन्तुहरुलाई त्यत्तिकै आक्रमण गरिहाल्दैनन् । 

सबै प्राणीहरुलाई जीवनको माया हुन्छ नै । यही कारणले उनीहरुले आफ्नो सुरक्षाको लागि अनेकन उपायहरु अवलम्बन गर्दछन् । यसका लागि प्रकृतिले नै प्रत्येक जीवहरुलाई विषेश गुण दिएको छ । यतिबेला भने हामी यो आलेखमा बालबालिकाहरुलाई कसरी यस प्रकारका विषालु जीवहरुको आक्रमणबाट जोगाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्दछौँ । 

बालबालिकाहरु भनेका अत्यन्तै शुलभ हुन्छन् । उनीहरुले झुटो बोल्न जानेका हुँदैनन् । यतिसम्म कि आफूले गरेको बद्मासीलाई जस्ताको तस्तै भन्दछन् । यहि अज्ञानताको कारणले गर्दा बालबालिकाहरुलाई विद्यालय वा घरमा पनि कस्तो स्थानहरु असुरक्षित हुन्छन् भन्ने कुरा उनीहरुलाई ज्ञान हुँदैन । 

कच्ची घर भएमा घरहरुमा रहेका मुसाको प्वालहरु, ईँटाको घर भएमा ईँटाका चरहरुमा, घाँस तथा झाडीहरुमा, पर्खालका कुना काप्चाहरुमा, छानाहरुमा, अनि पराल राख्नका लागि बनाइएको टौवाको आसपासका क्षेत्रहरुमा प्रायजसो विषालु सर्प लगायतका जीवहरुको बासस्थान रहेको हुन्छ । यसका बारेमा हामीले उनीहरुलाई सचेत बनाउनु पर्दछ । कहिलेकाँही देखियो भने पनि जिस्क्याउँने गर्नु हुँदैन भनेर जानकारी दिनु पर्दछ ।

त्यस्ता स्थानहरुमा नजानको लागि सल्लाह दिनु पर्दछ । हामी अभिभावकहरु पनि बिशेष सुरक्षा अपनाएर मात्रै त्यस्ता स्थानहरुमा जानु पर्दछ । जस्तोकि बुट जुत्ता लगाएर लठ्ठी वा कुनै हतियार लिएर जानु पर्दछ । यसैगरि विद्यालयमा पनि कक्षाकोठाहरु कच्ची भएमा कक्षामा पनि मुसाले बनाएका प्वालहरुमा, डेक्सबेन्चका कुनाहरुमा, विद्यालयका छानाहरुमा, चौरमा विद्यालयको भवन पछाडितिर थुपारिएका फोहोरहरुमा, खाल्डाखुल्डीहरुमा पनि सर्प लुकेर रहेका हुन सक्दछन् । 

यसरी शिक्षकहरुले कक्षाकोठामा पढाउने क्रममा पनि बालबालिकाहरुलाई कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा पनि सजग गराउन र त्यस प्रकारका स्थानहरुको यथाशीघ्र व्यवस्थापन गर्नुका साथै त्यस प्रकारका स्थानहरुमा नजानका लागि सल्लाह दिनु पर्दछ । यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थीहरु, शिक्षकहरु, अभिभावकहरु सबै मिलेर विद्यालयलाई पूर्ण सुरक्षित विद्यालय बनाउने कार्यमा जुट्नु पर्दछ । 

यसका लागि खास योजना बनाएर अगाडि बढ्न सकेको खण्डमा मात्रै विद्यालयलाई पूर्ण बालमैत्री र सुरक्षामैत्री बनाउन सकिने कुरामा शन्देह छैन । बालबालिकाहरुले सल्लाह मात्रै नमान्ने भएकोले उनीहरुलाई निगरानी पनि गरिरहनु आवश्यक छ । हुनत सर्पले टोक्ने समयमा जति सजग भएपनि टोकेकै हुन्छ । केही दिन अघि एक महिलालाई जिल्ला अस्पताल बर्दियाकै आवास भवनमा सुतिरहेको अवस्थामा बिस्तारामा नै सर्पले टोकेर ज्यान गयो । तसर्थ यो स्थान सुरक्षित छ भनेर पनि भन्न नसकिने अवस्था छ ।

 तराईबासी हामीहरु प्रत्येक स्थानमा सुरक्षित रहनु पर्ने हुन्छ । सुत्नु अघि पनि आफु सुत्ने बिस्तारामा रहेका लुगा कपडाहरुलाई राम्ररी टक्टक्याएर अब सुत्नका लागि सुुरक्षित छ भन्ने शुनिश्चित गरेर मात्रै सुत्नु पर्ने अवस्था छ । निद्राको समयमा टोकेको अवस्था भयो भने झन् विष छिटो प्रसार हुन सहयोग पुग्छ र घाइते छिटै बेहोसीको अवस्थामा पुग्दछ । यहाँ लक्ष्मणको र उक्त महिलाको अवस्था पनि यही भएको हो । 

रातीमा टोकेकाले निद्रा लागिसकेपछि विषको प्रभावमा वृद्धि भएर झन् बेहोसी बनायो र अव्यक्त अवस्थामा पुगेपछि उपचार संभव भएन र ज्यान गयो । 

सर्पले डस्नासाथ प्राथमिक उपचार पछि यथाशीघ्र अस्पताल पु¥याउनु नै बुद्धिमानी हो । यसको उपचार विधि अलि फरक भएका कारण लामो निगरानी पछि मात्रै औषधी दिइन्छ । यसका लगि अस्पतालमा घाइतेको अवस्था नहेरिकन संभव नै हुँदैन । 

जब शरीरमा पूर्ण रुपमा विष फैलिन्छ र विरामी लठ्ठ पर्दछ वा बेहोसीको अवस्थामा पुग्दछ अनि मात्रै एण्टि भेनम इन्जेक्सन दिइन्छ । यो अवस्था पूर्व नै यदि इन्जेक्सन दिइयो भने विषको भन्दा पनि यही इन्जेक्सनबाट दिइएको विषका कारण घाइतेको ज्यान जान्छ । चिकित्सकको लापारवाहीका कारण यस प्रकारका कतिपय घटनाहरु पनि नघटेका हैनन् । यसप्रति पनि हामी सजक हुनै पर्दछ । 

बालबालिका उफ्रिने, दौडिने जस्ता अनेकन शारीरिक क्रियाकलापहरु गर्न अत्यन्तै रुचाउँदछन् । यस प्रकारका क्रियाकलापहरु आफ्नो मन मिल्ने साथीहरुसँग गर्न मन पराउने हुँनाले खेल्नकै लागि भएपनि आफ्नो साथीहरुको घरमा वा कुनै खुला चौर, खेत, मैदानमा पुग्ने गर्दछन् । 

त्यस प्रकारका स्थानहरुका अपनाउनपर्ने सुरक्षाका उपायहरुका बारेमा उनीहरुलाई जानकरी नहुने भएका कारणले गर्दा हामी अभिभावकहरुले घरमा तथा विद्यालयमा शिक्षकहरुले विशेष निगरानी तथा जानकारी दिनु पर्दछ । 

मानिसको जीवन हर पाइला पाइलामा नै जोखिमयुक्त रहेको छ । तर सामान्य रुपमा मात्रै सजकता अपनाउन सकियो भने पनि जीवनलाई सुरक्षित राख्न सकिन्छ । तसर्थ, हामी आफू मात्रै सुरक्षित रहेर मात्रै पनि हुँदैन आफ्ना बालबालिकाको सुरक्षामा पनि आजैदेखि ध्यान दिने कि ? 

अन्तमा, बगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने लक्ष्मण थापामगरको मृतशरीरको अमर आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तपत सम्पूर्ण परिवारजनहरुप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना व्यक्त गर्दछु । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!