पतिले दिएर गएको 'रोग'

Posted on: 02 Dec, 2016

मंसिर १७, घोराही | दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । 

उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन ।

न पतिले नै कहिलै उनलाई यो रोगका बारेमा भने । २०५९ सालको अन्त्यतिर पतिलाई एचआइभी संक्रमणले अन्तिम अवस्थामा पुर्याइसकेको उनले थाहा पाएकी थिइन। औषधि उपचार भयो। केही सिप लागेन । पति बिते ।

पति बितेपछि चिकित्सकले उनी तथा छोराछोरीलाई पनि एचआईभी परीक्षण गराउन सल्लाह दिए । सबैको स्वास्थ्य परीक्षण भयो । दुई छोरा र छोरीको नतिजा निगेटिभ भयो । उनलाई पोजेटिभ ।

‘मैले त्यतिबेला भगवान्लाई धन्यवाद दिएँ, किनकि छोराछोरीको काल पनि मैले बोकेकी थिएँ', उनले भनिन्, ‘अहिले छोराछोरीको भविष्यका लागि पतिको रोग पालेर बाँचिरहेको छु ।' संक्रमितको शरीरमा जीवाणुसँग लड्ने ताकत दिने एआरभी औषधि उनले नियमित रूपमा खाइरहेकी छन् ।

‘पतिले छाडेको रोगले कति बेला लैजान्छ थाहा छैन, औषधिका भरमा अझै केही वर्ष बाँच्छु भन्ने त लागेको छ', रोग नलागेका अन्य महिलाजस्तै तन्दुरुस्त देखिने उनले भनिन् । पति मुम्बईमा काम गर्ने श्रीगाउँकी ३३ वर्षीया अर्की महिला पनि एचआईभी संक्रमणबाट पीडित छन् ।

भारतबाट छुट्टीमा आएका बेला उनका पति बिरामी परे । उनलाई उपचारका लागि नेपालगन्ज लगियो । परीक्षण गर्दा एचआईभी पोजेटिभ देखियो । त्यो पनि अन्तिम अवस्थामा । परीक्षणपछि चिकित्सकले उनलाई केही भनेनन् । ‘तपाईं नआत्तिनुस्, आफन्तलाई बोलाउनुस् मात्रै भने', उनले भनिन्, ‘घरबाट दिदीलाई बोलाएँ । - अन्नपूर्ण पोस्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!