'परदेशीबाट धेरै पैसाको आशा नगर्नुस्'

Posted on: 18 Jan, 2017

माघ सर्लाही । सर्लाहीको लक्ष्मीपुरकी ३५ बर्षिया सरिता चौधरी (नाम परिवर्तन) लाई जहिले पनि दिक्क मात्रै लागिरहन्छ । 

राति निद्रा पनि पर्दैन । काम गर्न जाँगर पनि चल्दैन । यसले कहिले काँही त आत्महत्या गर्ने सोच पनि आउँछ उहाँलाई । त्यतिबेला उहाँ ३ जना छोरालाई सम्झिनुहुन्छ अनि आफूलाई सम्हाल्नुहुन्छ ।  

उहाँलाई यस्तो तनाव ५ महिना अघि मलेसिया गएका श्रीमानले भने अनुसारको काम र तलब नपाउँदा सुरु भएको हो । श्रीमानले भनेको अनुसारको काम र तलब पाएनन् तर जाँदा लागेको एक लाख २० हजार रुपैयाँ ऋणको सय कडा तीन रुपैयाँका दरले ब्याज बढिरहेको छ । 

सरिताको दिमागमा यही कुरा मात्रै खेलिरहन्छ । त्यसैले उहाँ कसैसँग पनि बोल्नुहुन्न । कोही बोलेको सुन्यो भने रिस उठ्छ भन्नुहुन्छ उहाँ । ४ महिना अगाडि श्रीमान् विदेश जाने बेलाको जस्तो जोश जाँगर उहाँमा छैन । 

गौरीशंकरकी ललितादेवी राम ३० बर्ष मात्रै पुग्नुभएको छ । तर झट्ट हेर्दा ५० बर्ष पुगेको जस्तो देखिनुहुन्छ । अचेल निकै कम बोल्न थालेकी ललितादेवी एकान्तमा र एक्लै बस्न मन पराउनुहुन्छ । उहाँलाई जति बेला पनि तीन महिना अघि मलेसिया गएर भनेको तलब नपाएका श्रीमानकै याद आउँछ ।  यही तनावले गर्दा ललितादेवीलाई केही गर्ने आँट आउँदैन । उहाँलाई श्रीमानलाई विदेश पठाउने एजेण्टका बारेमा केही थाहा छैन । अनि कुनै कागजपत्र पनि छैन । 

घटनाका स्वरुप भिन्न भिन्न छन् तर त्यसले निम्त्याएको सिङ्गो पाटो एउटै छ । त्यो हो मनोरोग । माथिका घटना प्रतिनिधि घटना मात्रै हुन् । विदेशमा पुगेर अप्ठ्यारोमा परेका, कमाई गर्न नसकेका र पैसा पनि पठाउन नसकेका धेरै परदेशीका घरमा  यस्तै समस्या भेटिन्छन् । यस्ता समस्याले गर्दा परिवारको दैनिक, व्यवहारिक, सामाजिक जीवनयापनमा असर पर्ने नै भयो । समस्या लामो समय रहँदा विस्तारै विस्तारै मनोरोगको लक्षण देखिन थाल्छ ।

आफन्त विदेश जाँदा परिवारका सदस्यहरुको सपना हुन्छ उसले कमाउँछ अनि परिवारको अवस्था सुध्रिन्छ । तर अवस्था त्यसको विपरित भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा रहेका परिवारका सदस्यहरुमा पर्छ । 

अझ  भनौ विदेशिने व्यक्तिलाई यस्तो समस्याले बढीनै गाँज्छ । त्यसैले यस बारे सचेत हुनुपर्छ । विदेश जानेले पनि जानु अघिदेखि नै धेरै कमाउने सपना देख्नुहुँदैन अनि परिवारका सदस्यले पनि विदेश गएकाहरुबाट पैसाको मात्रै आशा राख्नु हुँदैन । नत्र मनोरोगको सिकार हुन सक्छ । उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!