'झन्डै ज्यान गएको थियो'

Posted on: 04 Apr, 2017

चैत २२, कविलास (चितवन) | सुख्खा पहिरोमा पुरिएका १५ बर्षीय मन्दिप रानालाई उद्धारपछि सान्त्वना दिँदै एक यात्रु । तस्बिर : अनिल ढकाल

नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए । सडक विस्तारका कारण १० बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुन्छ । 

नारायणगढबाट १७ किलोमिटर उत्तर कविलासको घुमाउनेमा करिब १० बजे ढुंगा खसेजस्तो ठूलो आवाज आयो । मान्छेहरू कराउन थाले, 'पहिरोले गाडी पुर्यो, मान्छे मर्यो ।' सडक माथिबाट ठूलो चट्टानसहित खसेको पहिरोले ना ४ ख ५४१९ नम्बरको ट्यांकर पुरियो । एकछिनपछि मानिसहरू घटनास्थलतर्फ जान थाले । ट्यांकर र त्यसको छेवैमा एकजना मान्छे पुरिएका थिए । तिनको मृत्यु भइसकेको थियो । अर्कोपट्टि ढुंगाको चेपबाट आवाज आयो, 'बचाऊ...बचाऊ ।' सानो प्वालबाट एउटा हात हल्लिएको देखेपछि प्रत्यक्षदर्शी कराउन थाले, 'ल, यहाँ एकजना जीवितै रहेछन्, जतिसक्दो छिटो निकालौं।'

सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । उद्धारपछि मन्दिप बुबा खोज्न थाले । प्राथमिक उपचारपछि उनलाई भरतपुर ल्याइएको थियो । मन्दिप आफू बाँचेको विश्वासै गरिरहेका थिएनन् । 'जाम परेकाले हामी बिस्तारै गुडिरहेका थियौं, एक्कासि पहिरो खस्यो', मन्दिपले भने, 'म बाँचें भनेर पत्याउन सकेको छैन ।'

उनी बुवासँग नवलपरासीको बर्दघाट जान लागेका थिए । बसमा जाँदै गरेका आमा दिलमाया, भाइ सञ्जु भनिने भुवनसिंह र दाजुको अवस्थाबारे साँझसम्म उनी बेखबर थिए । उनलाई बुबाका बारेमा कसैले नभने पनि आस मारिसकेका थिए । उनीहरू अर्घाखाँचीस्थित सुपा देउरालीमा पूजा गर्न मंगलबार जाने तयारी गरिरहेका थिए । बर्दघाटमा रहेका ठूलोबुबा र मामालाई भेटेर परिवारसँगै मंगलबार अर्घाखाँची जाने योजना थियो ।

'बुबासँग आएको हुनाले मैले अरू सोच्न सकिनँ । बुबा के हुनुभयो होला भन्नेमा ध्यान गयो', चितवन मेडिकल कलेजमा उपचाररत मन्दिपले भने ।अगाडिको भाग पुरिएको ट्यांकर चालक बन्नु पटेल पनि पहिरोबाट बाँच्न सफल भए । उनीसँगै रहेका सहचालक विनय कोइरीको भने मृत्यु भयो । बन्नु झ्यालबाट बल्लतल्ल निस्केपछि अरूले उद्धार गरेका हुन् । टाउकोमा चोट लागेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । - अन्नपूर्ण पोष्ट

यस बिषयमा तपाइको प्रतिक्रिया...!