सिङ्गो वार्डबासीद्वारा स्थानीय निर्वाचन बहिष्कार

Posted on: 14 May, 2017

वैशाख ३१, स्याङ्जा । दुई दशक पछि भइरहेको स्थानीय तहको निर्वाचन स्याङ्जामा पनि आइतबार बिहान ७ बजे देखी नै सुरु भई बेलुका ५ बजे सकिएको छ ।

जिल्लाभर चुनाव शान्तिपुर्ण तरीकाले सकिएको बताइएता पनि यहाँको साविक छाङछाङदी गाविस ७ नम्बर सिङ्गो वार्डका स्थानीयबासीहरुले निर्वाचन नै बहिस्कार गरेका छन् । लामो समयपछि भइरहेको स्थानीय तहको निर्वाचनमा अन्य स्थानमा उत्साहपूर्वक मतदाताहरु मतदान स्थल पुगेको भएतापनि यो ठाउँका स्थानीयबासीहरुले आपसमा सल्लाह गरी चुनाव बहिस्कार गरेका हुन । स्थानीय तह पुर्नसंरचना विवादको विषयलाई लिएर चुनाव बहिस्कार गरिएको स्थानीयबासीहरुले बताएका छन् ।

साविकको छाङछाङदी गाविस ७ वाडलाई वालिङ नगरपालिकामा गाभ्न माग गरिरहदा स्थानीय र जिल्ला स्तरका नेताहरुले वालिङमा नै गाभ्न सहमति जनाउदा जनाउदै पनि अन्तिममा गएर भीरकोट नगरपालिकामा गाभेको विषयलाई लिएर चुनाव बहिस्कार गरेको वाड नम्बर ४ का स्थानीय टिएन रेग्मीले जानकारी दिएका छन् ।

हालको भीरकोट नगरपालिका ४ दौ ठाटी माविमा रहेको मतदान केन्द्रमा कुल मतदाता संख्या ४ सय ५५ थियो भने एक सय ७ जनाको मत प्राप्त नभएको स्थानीय रेग्मीले जानकारी दिए । ‘दिनभरी मतदान केन्द्रमा आउछन भनेर पुरै वाडमा स्थानीयहरुलाई खोजी गर्‍यौं तर आएनन्,’ उनले भने, ‘भोट नहाल्नुको मुख्य कारण नेताहरुको झुटो आश्वासन र सिमाङकनको विवाद नै हो ।’

थोरै मतदाता संख्या रहेको यो बुथमा दिउँसो नै सकिएको थियो । ५ बजे सम्म भोट हाल्न आउँछन् की भनेर सवै कुरेर बस्यौं तर सल्लाहले नै कोही पनि नआएको उनले बताए । -इ–कान्पिुरबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!