३ जिल्लाको चुनाव सार्ने राजपाको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

Posted on: 18 Jun, 2017

असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवलाई देउवाले ‘अब चुनाव सार्ने प्रस्ताव नगर्न’ आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवाले ‘राजपासँगको सहमतिमै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको’ उल्लेख गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्ने निर्णय राजपाले शुक्रबार गरेकामा असन्तुष्टि प्रकट गरेका थिए ।

तीनवटा प्रदेशका स्थानीय तहमा आइतबार मनोनयन हुँदैछ । चुनावको सक्रिय बहिष्कार गर्ने उद्घोष गरेको राजपाले यसअघि स्थानीय तह थप भएका ११ जिल्लाकै चुनाव असोज २ मा सार्न आग्रह गरेको थियो । चुनाव सम्पन्न भएपछि २ नम्बर प्रदेशबाहेक अन्य ठाउँमा स्थानीय तहको संख्या थप गर्न नमिल्ने भन्दै ११ जिल्लाको चुनाव असोज २ मा गर्नुपर्ने प्रस्ताव राजपा नेता यादवले गरेका थिए । तर देउवाले राजपा नेताहरूसँग भएको अनौपचारिक सहमतिअनुसारै २ नम्बर प्रदेशको चुनाव सारिएको बताउँदै अन्य ठाउँमा चुनाव नरोकिने बताए ।

प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने माओवादी केन्द्रका नेता मातृका यादवले समय लिएर भेट्न आएको बताए । ‘राजनीतिक भन्दा पनि व्यक्तिगत कुरा गर्न उहाँहरू आउनुभएको हो’, उनले भने, ‘बाहिर आएजस्तो चुनाव सार्ने प्रस्ताव लिएर आउनुभएको होइन ।’ राजपा नेता यादवले भने प्रधानमन्त्री देउवासँगको भेटघाटबारे केही बताउन चाहेनन् । - कान्तिपुर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!