कसरी भित्रियो थवाङमा कम्युनिष्ट ?

Posted on: 20 Jun, 2017


असार ६, काठमाडौं । थवाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । 

कृष्ण झाँक्री नामका मुखिया (राजा)ले गाउँमा सुँगुर, बंगुर, कुखुरा, कुकुर खुला नछोड्न आदेश गरे । झ्याली पिटाए । कटुवाललाई हाक हाल्न लगाए । तर, गाउँलेले टेरेनन् । स्थिति फेरिएन । अनि सुरु गरे मुखियाले जनावरमाथि आक्रमण । सुँगुर, बंगुर, कुखुरा, कुकुर रक्ताम्मे भएर घरगोठ पुगे । भरुवा बन्दुक, खुकुरी, भालाका घाउले जनावर हेरिनसक्नु भए । उनीहरुको घाउ पाके । विरोधमा बोल्ने हिम्मत कसैमा भएन ।

असाध्यै भएपछि बरमन बुढा (पूर्वसांसद) लगायतका युवाले प्रतिकार गरेका थिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बरमन जेल पुगे । रोल्पा जिल्ला जन्मिएको थिएन, त्यसैले बुढालाई प्युठान कारागार पु¥याइयो ।

संयोगवश बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिष्ट राजनीति सुरु भयो । उनीपछि प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के ।

जेलबाट छुटेका मोहनविक्रम दाङ, सल्यान, रुकुम हुँदै थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गर्न थालेपछि कम्युनिष्ट राजनीतिको औपचारिक सुरुवात भएको थियो । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!