दाङका व्यवसायी श्रेष्ठ हत्याको खुलासा पोखराबाट यसरि भयो

Posted on: 04 Jul, 2017


असार २०, पोखरा । दाङको तुलसिपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष राजकुमार श्रेष्ठ जेठ २६ गते बेपत्ता भए । 

त्यस दिन साझा रोटरी क्लब अफ तुलसीपुरको बैठकमा सहभागी श्रेष्ठको ७ बजेपछि मोबाइल अफ भयो । बा११च १०७१ नम्बरको कार लिएर घरबाट निस्किएका श्रेष्ठ त्यो रात घर नअएपछि परिवार आत्तिनु स्वाभाविकै थियो । तीन दिन बितिसक्दा समेत श्रेष्ठ घर फर्केनन् । तर उनको खबर भने परिवारकहाँ आयो । श्रेष्ठ अपहरणमा परेको भन्दै फिरौतीका लागि ३ करोड व्यवस्था नगरे ज्यान नरहने धम्कीपूर्ण खबर आयो ।

ज्यानभन्दा ठूलो पैसा होइन भन्दै फिरौती तिर्ने निर्णय परिवारले गरे । पैसा कहाँ दिने कसलाई दिने केही टुंगो भएन । श्रेष्ठ अपहरणमा परेको कुरा प्रहरी र सर्वसाधारणलाई समेत थाहा भयो । प्रहरी उनको खोजीमा लाग्यो तर उनी कहाँ छन् भनेर कुनै सुइँको पाएनन् । प्रहरीले व्यापारी श्रेष्ठको अवस्थाबारे जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने समेत घोषणा ग¥यो, तर परिणाम शून्य रह्यो ।

घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन ग¥यो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य रहे । समितिले पनि घटनाको अनुसन्धानमा पाइला चाल्यो । घटना अञ्चलमा मात्र सीमित रहने कुनै भएन ।

अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट समेत टोली खटियो । टोलीले घटनाको सुक्ष्म अनुसन्धान सुरु ग¥यो । कलडिटेलको आधारमा प्रहरीले कडी फेला पा¥यो । अपहरणको घटनामात्र  नभएर हत्याको घटना त्यति बेला बाहिर आयो जब टोली पोखरा आएर २ जनालाई पक्राउ ग¥यो ।

असार १३ गते शंकास्पद व्यक्तिलाई पक्राउ गर्न पोखरा आएको टोलीले वडा प्रहरी कार्यालय बगरसँग सहयोग माग्यो । इन्स्पेक्टरको कमान्डमा २ सई र एक हबल्दार अनुसन्धानको क्रममा पोखरा आएकै दिन माछापुच्छे« गाउँपालिका–४ लाहाचोक पुग्यो तर कसैलाई पक्राउ गरेन । व्यापारी श्रेष्ठको अपहरणमा संलग्न रहेको भन्ने बलियो कडी पाएको टोली भोलिपल्ट फेरि असार १४गते लाहाचोक पुग्यो ।

त्यसदिन टोलीले त्यहाँबाट ५ जनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय बगर ल्यायो । प्रारम्भिक सोधपुछ गरेपछि टोलीले दुईजना रुवत थापा मगर र अविरल महतरालाई दाङ लग्यो । पोखरामा केही नबोलेका ती २ जनाले दाङ पुगेपछि घटनाको सिलसिला एकपछि अर्को गर्दै फुकाए । लाहाचोकमा उनीहरु आफन्तकहाँ लुकेर बसेका रहेछन् । दाङबाट ३ वर्षअघि ज्याला मजदुरी गर्न लाहाचोक आइपुगेका आफन्तकहाँ आएका रहेछन् उनीहरु ।

व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरी भागेर यी २ सोझै लाहाचोक आएको खुलाए । उनीहरुकै बयानको आधारमा दाङ प्रहरीले श्रेष्ठको शव फेला पा¥यो ।

अपहरणको सुरुआत एक युवतीबाट भयो । जेठ २६ गते साँझ जब श्रेष्ठ रोटरी क्लब अफ तुलसीपुरको बैठकमा थिए उनलाई लगातार फोन आयो । बैठकबाट बाहिर निक्लिएर उनले फोन उठाए । उनलाई कल गर्ने अरु कोही थिइनन् उनले चिनैकै दाङ तुल्सीपुरकी १७ वर्षीया पूजा घर्ती मगर थिइन् । पूजाको बुबा निर्मल उर्फ टीकाराम घर्ती मगरकै योजना अनुसार फोन श्रेष्ठलाई आयो ।

विगतमा पनि उनीहरु बिच पटकपटक फोन सम्पर्क हुँदोरहेछ । त्यसदिन पूजाले श्रेष्ठलाई सल्यान घुम्न जाने प्रस्ताव राखिन् । श्रेष्ठले पनि केही नसोची प्रस्ताव सजिलै स्वीकारे । घरमा श्रीमतीलाई ‘एकै छिनमा आउँछु’ भन्दै कार लिएर घरबाट निस्किए । केही पर पुगेपछि पूजालाई कारमा हालेर सल्यानतिर लागे ।

करिब १ घण्टा पछि भन्ज्याङ जंगल नजिक केही समूहले बाटो छेकेर व्यापारी श्रेष्ठको अपहरण गरे । त्यसपछि उनलाई टोलीले जंगलको बाटो हिँडयो । बिना खानपिन हिँड्दा मधुमेहका रोगी श्रेष्ठ झन् बिरामी परे । ठाउँठाउँमा लडे पनि । हिँड्न नसकेपछि अपहरणकारीले उनको हत्या गर्ने निस्कर्षमा पुगे । सल्यानको छत्रेश्वरी गाउँपालिका लेक भन्ज्याङको जंगलमै ढुंगाले हानेर उनको हत्या गरे ।

त्यसपछि प्रहरीको डरले सबै अपहरणकारी फरक–फरक ठाउँमा भागे । सोही क्रममा असार १ गते मगर र महतरा कास्की माछापुच्छे« गाउँपालिका–४ लाहाचोक भागेर आएको दाङका एसपी धीरजप्रताप सिंहले बताए । ‘उनीहरुकै बयानको आधारमा श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ को पाथिभरा लेकस्थित जंगलमा भेटियो,’ उनले भने, ‘अपहरण भएको तीनदिनपछि उनको हत्या गरिएको रहेछ ।’

घटनाको थप अनुसन्धान भइरहेको सिंहले बताए । ‘घटनामा संलग्न चार जना पक्राउ परेका छन्,’ उनले भने, ‘ती दुईसहित मनबहादुर पुन र जमा पुनलाई पक्राउ गरेका छौ,’ अन्य तीन जना फरार भएको एसपी सिंहले जानकारी दिए । घटनामा संलग्न सल्यान झिम्पे– ४ का ३५ वर्षीय मानबहादुर भण्डारी, तुलसीपुर–६ का ४० वर्षीय टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी फरार छन् । -सेतोपाटी अनलाइनबाट साभार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!