प्रेम सम्बन्ध भएको आरोपमा निर्घात कुटिए युवायुवती (भिडियो)

Posted on: 21 Jul, 2017


साउन ६, बुटवल । अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् । 

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६  डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् । 

विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए । घटनाका बेला २५ जना बढी रमिते बनेर हेरेका थिए । 

घटनामा उक्साउने छिमेकी र स्थानीय मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए । घटनापछि दुवैजना आआफ्नो घरमा छन् ।

प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो । स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । बाल विवाह भएकी मीना गौना नगरेका कारण माइतैमा बसेकी थिइन् ।  उनीहरु पछिल्लो समय नजिकिएका थिए । 

दुईको प्रेम सम्बन्ध रहेको शंकामा मीनाको परिवारले दिनेश घर आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएका थिए । उनलाई कुटपिट गर्न थालेपछि मीना बचाउन गइन् । त्यही बेला परिवारका सदस्यले मीनालाई पनि लछारपछार गरेका थिए । 

यो दर्दनाक भिडियो हेर्नुहोस । 


एक युवाले मौखिक जानाकारी गराएपछि  प्रहरीले कुटपिट गर्ने युवतीका बुवा इन्नरलाई पक्राउ गरेर एक दिन थुनामा राखेको थियो । २० गते मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए ।

रुपन्देहीका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले भने बिगतमा मानसिक रोगको औषधी खाएका अहिर बेहोस हुन लागेपछि प्रहरीले छाडिदिएको बताए । स्थानीय लक्ष्मी यादवले भने आफूहरुले पटक पटक छानबिनमा आग्रह गरेपनि प्रहरीले महिलाको घटना भनेर बेवास्था गरेको बताइन् ।

भिडियो बाहिर आएपछि बल्ल रुपन्देही प्रहरीले घटनामा चासो दिएको छ । ‘उतिबेला युवकको बारेमा कुरै आएन । युवतीलाई आफ्नै बाबुले कुटेको उजुरी मात्रै आयो । 

त्यति ठूलो लागेन’ प्रहरी नायव उपरीक्षक पाण्डेले भने ‘अहिले बल्ल अमानवीय घटना र युवक समेत कुटिएको बारेमा थाहा भयो । अब तत्काल पीडकलाई पक्राउ गरी जिल्लाबाटै घटना अनुसन्धान हुनेछ ।’ -कान्तिपुर दैनिक  

यस बिषयमा तपाइको प्रतिक्रिया...!