खिम्तीका बाढीपीडितको पिरलो – हामी कहाँ बस्ने ?

Posted on: 05 Aug, 2017


साउन २१, काठमाडौं । रामेछापको लिखु गाउँपालिका–६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । 

उनलाई शरीर र हात–गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा मुस्किलले उनको ज्यान बचेको थियो । 

उक्त घटनाबाट पीडित उनमा शरीर र हात–गोडा काँप्ने समस्या देखिएको हो । बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि उनको साढे दुईतले घर मात्रै बगेन, दुहुनो भैंसीसहित खसी–बाख्रा, कुखुरा र झन्डै ३५ धार्नीको सुँगुर पनि बगाएको थियो । 

गेलुपिटासीका उनी परिवारसहित केही वर्षअघि मात्रै खिम्ती झरेका थिए । उनले दुई वर्षअघि जनहित सहकारीमा लालपुर्जा धितो राखेर कर्जा लिएको दुई लाख ६८ हजार रकमले चार रोपनी दुई आना जग्गा किनेका थिए ।

उनले त्यहीं नै घर पनि ठड्याएका थिए । बाढीले उनको घरजग्गालाई बगरमा परिणत गरिदिएको छ । सहकारीलाई तिर्न ठिक्क पारेर बाकसभित्र राखेको दुई लाख ६८ हजार पनि बाढीले बगायो । 

बाढीले पैसाभन्दा पनि घरजग्गा पूर्णरूपमा स्वामित्वमा ल्याउने उनको सपना बगाएर लग्यो ।

‘एक–दुई मिनेट ढिला गरेको भए हामी पनि बाढीसँगै बग्थ्यौं । 

ज्यान बचेकोमा खुसी लागेको छ । तर, यति खेर हामीसँग आफ्नो शरीरभन्दा केही छैन । न बस्ने ठेगान छ न त खाने कुरा नै’ छिमेकीको कटेरोमा आश्रय लिइरहेका उनले बिलौना गर्दै भने, ‘ऋण गरेर किनेको जग्गा र जोडेको घर बग्यो । त्यही ऋण तिर्न तयार पारेको पैसा पनि बग्यो । अहिले घरबारविहीन छु । शरीर काँप्ने रोग थपिएको छ ।’

अर्का पीडित होमबहादुर खत्री पनि उस्तै पीडामा भेटिए । बाढीको समयमा उनी जिल्लाबाहिर रहे पनि आमालाई बगाएर बेपत्ता बनायो । बोल्न–सुन्न नसक्ने दाजु र भाउजूसहित उनीहरूका दुई छोरी घाइते भए । 

उनीहरूको राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीले परिवारलाई छिन्नभिन्न पारिदिएपछि उनी पनि गाउँमै विरक्त अवस्थामा भेटिएका हुन् । ‘आमा बित्नुभयो । बोल्न र सुन्न नसक्ने दाइको सम्पत्ति केही बाँकी छैन । -अन्नपूर्ण पोस्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!