प्राधिकरणका सिइओ पोख्रेलले पदीय दुरुपयोग गरेको चारदलको आरोप

Posted on: 05 Oct, 2017

असोज १९, प्यूठान । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् । 

बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस विज्ञप्तीमार्फत पोख्रेलले सरकारी पदीय मर्यादा भुलेर जिल्लामा नेपाली कांग्रेसको गतिविधिमा क्रियाशिल रहेको उल्लेख गरेका छन् ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दा समेत क्षतविक्षत भएका घरहरु पूर्ननिर्माण भएका छैनन् । पीडितको पीडा सम्बोधनमा ठोस पहल भएको छैन् । यसप्रति पहल र कार्ययोजनामा लाग्नुको साटो पदीय मर्यादा भुलेर सरकारी स्रोतसाधनको दुरुयोग गरी हिडेकोप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ ।' विज्ञप्तीमा भनिएको छ ।

सरकारी साधनको दुरुपयोग गरी स्थानीय तह निर्वाचनमा समेत डा.पोख्रेल जिल्लामा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भएको चार दलले आरोप लगाएका छन् । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी पदीय जिम्मेवारीबाट अलग नभई पार्टीका गतिविधिमा हिड्नु निर्वाचन आचारसंहिता विपरित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विषयलाई गम्भीरतापूर्वक नलिएमा उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवारी सम्वन्धित पक्ष हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको पूनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा डा.पोख्रेल दुई पटकसम्म नियुक्त भएका हुन् । उनी यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन् । 

नेपाली कांग्रेस प्यूठानले आउँदो संघको निर्वाचनमा जिल्लाबाट पोख्रेललाई उम्मेदवार उठाउने तयारी थालेको छ । कांग्रेस स्रोतका अनुसार जिल्लाबाट पोख्रेलको मात्र नामावली केन्द्रमा सिफारिस गरिएको बुझिएको छ । दसैं मनाउन गृहजिल्ला प्यूठान आएका डा.पोख्रेल अझै फर्केका छैनन् । -अन्नपुर्ण अनलाइनमा खबर छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!