रोल्पाका पुनद्वयः कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

Posted on: 09 Nov, 2017

कात्तिक २३, रोल्पा । केन्द्रीय राजनीतिमा प्रभावशाली रहेका वर्षमान पुन ‘अनन्त’ शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्ला रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । 

पूर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता पुनसँग चुनावी प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन । यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका पुन वर्तमान सरकारमा सिंचाई राज्यमन्त्री छन् । पहिलो पटक चुनावी मैदानमा उत्रिएका चुनावी प्रचार तीव्र बनाएका छन् । 

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वर्षमान पनि चुनावी प्रचारमा छन् । अाजको अन्नपूर्णमा खबर छ-सबैतिर जिज्ञासा छ- माओवादीको गढ मानिने रोल्पामा कसले बाजी मार्ला ? ‘शान्ति प्रक्रियापछिका चुनावमा माओवादी केन्द्र एक्लो हुँदा पनि जितेको हो । वाम गठबन्धन भएपछि त जित पक्का भइसक्यो’, माओवादी केन्द्रका उम्मेदवार वर्षमान भन्छन, ‘मंसिर १० गते चुनाव भएर घोषणा हुन मात्र बाँकी हो । हाम्रो चिन्ता मतान्तर बढाउने मात्र हो ।’

कांग्रेस उम्मेदवार पुन पनि आफूले जित्नेमा ढुक्क रहेको दावी गर्छन् । वाम गठबन्धनबाट माओवादी र एमाले कार्यकर्तामात्र होइन, मतदाता पनि असन्तुष्ट रहेको दावी गर्दै उनी भन्छन्- ‘अधिनायकवाद लाद्‍ने खतरा भएकाले हामीलाई मतदान गर्ने स्थिति बन्छ ।’

२०६४ को निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३४ हजार २२० मत ल्याएर विजयी भएका थिए भने क्षेत्र नम्बर १ बाट जयपुरी घर्तीले २६ हजार ५०५ मत ल्याई विजयी भएकी थिइन् । कांग्रेसका उम्मेदवारले पाएको मत करिब आधा कम थियो । 

२०७० को निर्वाचनमा पनि दुवै क्षेत्र माओवादी केन्द्रकै पोल्टामा परेको थियो । क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा निर्तमान सभामुख ओनसरी घर्ती विजयी भएकी थिइन् ।

दोस्रो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनसम्म माओवादी केन्द्र र कांग्रेसको मतान्तर साँघुरिदै गएको छ । एमाले र कांग्रेसको मत बढ्दो क्रममा देखिन्छ भने माओवादीको घट्दो क्रममा । छिमेकी जिल्ला रुकुममा माओवादीले स्थानीय तहमा ‘क्लिन स्विप’ गरेपनि यहाँका १० स्थानीय तहमध्ये माओवादी केन्द्रले ७ स्थानीय तहमा जित हासिल गरेको छ । रोल्पा नगरपालिका सहित ६ गाउँपालिकामा माओवादी केन्द्र, एमाले २ र कांग्रेस १ गाउँपालिकामा विजयी भएका छन् ।

एक्लाएक्लै चुनावमा भाग लिदा यहाँ माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेका थिए । एमाले र माओवादीबीच गठबन्ध भएकोले कांग्रेस ठूलो मतान्तरले पछि पर्ने दावी गर्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चुनाव प्रचार संयोजक गोकुल घर्ती । ‘एमाले र माओवादी केन्द्रको स्थानीय तहको चुनावमा प्राप्त मत जोड्दा कांग्रेसको उम्मेदवार दोब्बर मतले हार्छन्’ घर्तीको आकलन छ ।

प्रदेशसभामा के होला ?

प्रदेश सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कुलप्रसाद केसी र दीपेन्द्र कुमार पुन उम्मेदवार छन्। यता कांग्रेसबाट पार्टी सचिव शेरबहादुर महरा र खगेन्द्रप्रकाश हमाल उम्मेदवार छन् ।

निर्वाचन क्षेत्र ‘क’ मा केसी र महराको प्रतिस्पर्धा हुँदैछ भने ‘ख’ मा पुन र हमालको। प्रतिनिधिसभामा वर्षमान र अमरसिंहसहित ८ जना उम्मेदवार छन् भने प्रदेशसभामा केसी र महरासहित ९ तथा पुन र हमालसहित ८ जना उम्मेदवार छन् ।

यस्तो छ अंकगणित

७२ वडा रहेको रोल्पामा स्थानीय तहको चुनावमा माओवादी केन्द्रले ४८, कांग्रेसले ११, एमालेले ११ र स्वतन्त्रले २ वडा जितेका छन् । माओवादीले जितेको नगर र गाउँपालिकाका मत र प्रत्यसी बनेकाको मत संख्या ३३ हजार ६७४ छ। कांग्रेसले जितेको लुंग्री गाउँपालिकाको प्रमुखको मत र प्रत्यसी बनेका स्थानीय तहको मत जोड्दा २३ हजार २४७ हुन आउँछ । एमालेले १५ हजार ६४६ मत ल्याएको थियो ।

स्थानीय तहको चुनावमा माओवादी केन्द्र र एमालेले प्राप्त गरेको मत जोड्दा ४९ हजार ३२० हुन आउँछ। कांग्रेसलाई राप्रपासँगको तालमेलले राहत दिए पनि जितका लागि त्यो पर्याप्त छैन। राप्रपाको जिल्लाभरको मत १ हजार ५९० मात्र हो । राप्रपाबाट विभाजित दुई समूह अलग्गै मैदानमा छन् ।

वाम गठबन्धन र कांग्रेसको दोब्बर मतान्तरले मात्रै जितहारको निर्क्यौल गर्न गाह्रो छ किनभने स्थानीय चुनावयता करिब १० हजार मतदाता थपिएका छन् । जिल्लामा एक लाख २७ हजार ६२९ मतदाता छन् । यी मतदाताले आफ्ना प्रतिनिधि चयनका लागि मंसिर १० मा मतदान गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!