रोल्पामा नेपाल कम्युनिस्ट पार्टीका दुई नेता पक्राउ

Posted on: 09 Nov, 2017

कात्तिक २३, रोल्पा । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । 

मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्न मतदातामाझ भय सिर्जना गरेको आरोपमा प्रहरीले बुधबार बेलुकी दुवैलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नेकपाका रोल्पा इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र जिल्ला सचिव सन्तोष सुवेदी ‘प्रयास’ छन् । मतदातामा भय सिर्जना गरेकाले निर्वाचन सुरक्षामाथि खतरा उत्पन्न हुने देखेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । नियन्त्रणपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रनाउ फुयालले बताए ।  

प्रहरीका अनुसार नेकपाका जिल्ला इन्चार्ज खत्रीलाई सदरमुकामस्थित रोल्पा नगरपालिका भित्रैको लिबाङबाट र सचिव सुवेदीलाई सुवर्णावती गाउपालिकाको मिझिङबाट नियन्त्रणमा लिइएको हो । स्रोतका अनुसार पक्राउमा परेका नेता लगायतलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । 

विप्लवद्वारा एक महिनाअघि जिल्ला सचिव मनोनित गरिएका सुवेदी माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् । रोल्पा जिविसका पूर्व सभापति नेता झक्कुप्रसाद सुवेदी आसन्न निर्वाचनमा काठमाडौ २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । सन्तोषका ससुरा माओवादी नेता हरिबोल गजुरेल पनि निर्वाचनका उम्मेदवार छन् । 

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले निर्वाचन विरोधी गतिविधिमा लाग्ने जोकोहीलाई पक्राउ गर्ने सरकारले स्पष्ट निर्देशन दिएको बताए । ‘निर्वाचन विरोधी गतिविध सिर्जना गर्ने र सुरक्षा व्यवस्थामाथि खतरा उत्पन्न गर्नेलाई पक्राउ गरेर नियन्त्रणमा राख्न सकिन्छ’ प्रजिअ भट्टराईले भने । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!