‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङः यस्तो छ थबाङको इतिहास

Posted on: 17 Nov, 2017

मंसिर १, काठमाडौं । रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । 

यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल र उवागाउँसमेत मिसाएर थबाङ गाउँपालिका बनाइएको छ । २०१३ सालमा थवाड गाउँमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले संस्थागत रूपमा कम्युनिस्टको जग बसालेका थिए । 

०१५ सालदेखि ०७० सालको संविधानसभा निर्वाचनसम्म त्यहाँका मतदाताले कम्युनिस्ट उम्मेदवारलाई भोट दिँदा र बहिष्कार गर्दा पनि एकढिक्का भएर निर्णय गर्दै आएका थिए । अाजको अन्नपूर्णमा खबर छ-तर पछिल्लो स्थानीय तह निर्वाचनमा त्यहाँको मत विभाजित भएको छ । तर यस्तो निर्णय समूहगत नभई स्वेच्छिक आधारमा भएको हो ।

अहिले भने त्यहाँका जनता दोधारमा छन् । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले थबाङलाई आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

अहिले विप्लप नेतृत्वको पार्टी चुनाव खारेजी गर्दै थबाङबाट शून्य मतदानको तयारीमा छ भने माओवादी केन्द्र यसपटक आफ्ना उम्मेदवारका पक्षमा मतदान गराई छाडने अभियानमा । दोस्रो संविधानसभा निर्वाचनमा थबाङका जनताले मतदान नै नगरी तत्कालीन माओवादी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीलाई थबाङ प्रवेशबाट रोकेका थिए ।

थबाङमा शून्य मतदान जारी राख्नेमा नेकपा र उसको निर्णयलाई उल्ट्यार जनमत आफ्नो पक्षमा पार्नेमा माओवादी केन्द्रबीच अहिले रोल्पामा रस्साकस्सी नै चलेको छ । यो रस्साकस्सी स्थानीय तह निर्वाचनकै समयदेखि बाक्लो रूपमा चल्दै आएको हो । यद्यपि साविकका मिरुल र उवा गाउँलाई छाडेर थबाङको मात्र जनमत हेर्ने हो भने नेकपाकै प्रभाव बढी देखिन्छ ।

तर स्थानीय तह निर्वाचनमा नेकपाभित्र देखिएको अन्तरविरोधका कारण त्यहाँको जनमत विभाजित हुन पुगेको थियो । त्यसबेला नेकपाका स्थानीय पार्टी कमिटीले केन्द्रको ‘चुनाव बहिष्कार नीति’ उल्लंघन गरी निर्वाचनमा सहभागी भएको थियो । 

त्यसपछि उक्त पार्टीको बैठकले थबाङमा क्रान्तिकारीहरूको सशक्त प्रभाव हँुदाहँुदै पनि स्थानीय नेताहरूको निर्णय विचार र भावनाका दृष्टिले नै गलत र दुखद् रहेको निष्कर्ष निकालेको थियो । तर यसपटकको चुनावमा भने शून्य मतको इतिहास कायम राख्ने निर्णय नेकपाले लिएको छ ।

नेकपाको केन्द्रीय समिति बैठकले पारित गरेको दस्तावेजमा विगतको विरासत जोगाउन शून्य मतदानमा अडिनुपर्ने उल्लेख भएपछि थबाङलाई उसले प्रतिष्ठाको विषय बनाउन खोजेको देखिन्छ । 

‘स्थानीय तह निर्वाचनमा पार्टी, क्रान्ति, वर्गसंर्घषलाई राष्ट्रिय जिम्मेवारीबाट बुझ्न नसक्ने यथास्थितिवादी, संसद्वादी र अनुभववादी कमजोरीका कारणले हामीमा केही समस्या पैदा भएको थियो । त्यसबाट पाठ सिकेर फेरि यसको विरासतपूर्ण इतिहासलाई जोगाउनुपर्छ’, नेकपाको दस्तावेजमा उल्लेख छ ।

तर रोल्पाबाट प्रतिनिधिसभाका माओवादी उम्मेदवार वर्षमान पुन ‘अनन्त’ यसपटक थबाङले माओवादी केन्द्रको पक्षमा मत दिने विश्वास व्यक्त गर्छन् । ‘थबाङी जनताले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । 

विप्लवजीको पार्टीले पनि थबाङमा स्थानीय निर्वाचनमा भाग लिएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा यो धेरै अर्थपूर्ण छ’, पुनले भने, ‘राजनीतिक क्रान्तिमा थबाङले पुर्‍याएको नेतृत्वदायी योगदान कसैले भुल्न सक्दैन । थबाङले लामो समय राजनीतिक संघर्षमा बिताएको छ । अब समृद्धिका लागि लाग्नुपर्छ । थबाङी जनताले मतदान गर्नेमा म विश्वस्त छु ।’

थबाङमा आठ सय ४५ घर र झन्डै ६ हजार जनसंख्या छ । मगर बाहुल्यता रहेको त्यहाँ सशस्त्र युद्धताका राज्यपक्षबाट ३२ र माओवादीबाट चार गरी ३६ जनाको मृत्यु भएको थियो । युद्धकै क्रममा सिंगै गाउँ नै जलेको थियो । 

थबाङका जनतामाझ कम्युनिस्टको जग मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता रामबहादुर थापाले बसालेका थिए ।

त्यसयता थबाङको विशेषता नै ‘विद्रोही’ स्वभावको बन्दै आएको थियो ।

अहिले विगतको विरासत जोगाउने र त्यहाँको वर्चस्व आफ्नै हातमा राख्न नेकपा र माओवादी केन्द्रबीचमा प्रतिष्ठाको लडाइँ चलेको क्रान्तिकारी माओवादीका मोर्चा देशभक्त जनगणतान्त्रिक (देजमो) का तर्फबाट रोल्पामा प्रतिनिधिसभा उम्मेदवार कुमार शाहले बताए ।

उनले भने, ‘विप्लवजीहरू शून्य मतदान भन्ने, माओवादी केन्द्र दलबलसहित सभा गर्न पुग्न थालेपछि अब थबाङ प्रतिष्ठाको विषय बनेको छ ।’०४८ सालमा रोल्पाबाट चुनाव जितेका संयुक्त जनमोर्चाका वर्मन बुढा माओवादी केन्द्रको पक्षमा आफैं उभिएपछि थबाङ प्रतिष्ठा र संघर्षको केन्द्रविन्दु बन्न पुगेको उनको बुझाइ छ ।

थवाङलाई प्रतिष्ठाको विषय बनाउन माओवादी केन्द्र र नेकपाबीचको अस्वस्थ प्रतिस्पर्धा गत स्थानीय तहको निर्वाचनदेखि नै हुँदै आएको छ । थबाङ गाउँपालिका परिषद् बैठक भदौ ३१ मा उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाल जाँदा नेकपाले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई अपहरण नै गरेको थियो । त्यसै बेलादेखि त्यहाँको विरासत कसले कब्जा जमाउने भन्नेमा लडाइँ छ ।

स्थानीय चुनावपछि विप्लव आफैं थवाङ पुगेर उक्त ठाउँमा पार्टी कमिटीको बैठक राखी निर्वाचन खारेजीको निर्देशन दिएका थिए । तीन साताअघि मात्रै नेकपाले राप्ती ब्युरोको बैठक राखी थबाङमा जुनसुकै अवस्था आए पनि शून्य मतको अवस्था जारी राख्ने निर्णय गरेपछि दुई पार्टीबीच विवाद बढेको हो । त्यही क्रममा चुनावी प्रचारमा रहेका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनमाथि नेकपाका कार्यकर्ताले आक्रमणको प्रयाससमेत गरेका थिए । त्यसको बाबजुद उनले सोमबार थबाङ पुगेर चुनावी सभा गरेका थिए । 

नेकपाले पुनको कार्यक्रम बिथोल्न जिल्ला बन्दको घोषणा मात्रै गरेन, थबाङलाई चुनाव निषेधित क्षेत्रसमेत घोषणा गरेको छ । यसले पनि यी दुई पार्टीबीच विवाद थप टकराव बढ्ने सम्भावना छ । नेकपा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने यस विषयमा अहिले नै टिप्पणी नगर्ने बताए ।

यस्तो छ थबाङको इतिहास

– ०३७ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा सबै मत ।

– ०३८ को आम चुनावमा शून्य मत ।

– ०४२ मा बमकुमारी बुढालाई एकमुष्ठ मत ।


– ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई एकमुष्ठ मत ।

– ०५१ को मध्यावधि निर्वाचनमा चार जनाको मात्र मतदान ।

– ०५४ को स्थानीय निर्वाचनमा शून्य मतदान ।


– ०५६ मा सदरमुकामबाट दुई जनालाई हेलिकप्टरबाट लगेर मतदान ।

– ०६४ को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकमुष्ठ मत ।

– ०७० को संविधानसभा निर्वाचनमा शून्य मत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!