चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

Posted on: 11 Feb, 2018

माघ २८, दार्चुला । प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित चमेलियाको विद्युत्गृह परिसरको ताम्रपत्र अनावरण तथा मुख्य स्विच थिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको उद्घाटन गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री देउवाले चमेलिया प्रदेश ७ को विकास र औद्योगिकीकरणका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । ‘यो प्रदेशसँग २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको छ,’ उनले भने, ‘विद्युत् बेचेर मात्रै पनि अन्य प्रदेशभन्दा धनी बन्न सक्ने सम्भावना छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले चमेलिया जलविद्युत् आयोजनाले साँझको पिक आवरमा पनि कम्तीमा तीन घन्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएकाले लोडसेडिङ हटाउन टेवा पुग्ने बताए ।

प्रभावित क्षेत्रका बासिन्दा बिजुलीबाट बञ्चित

३० मेगावाटको चमेलिया शनिबारदेखि सञ्चालनमा आए पनि प्रभावित क्षेत्रका बासिन्दाले भने त्यसको उपयोग गर्न पाएका छैनन् । आयोजना स्थल दार्चुला र बैतडीका लागि निर्माण गरिएको सब–स्टेसनबाट प्रसारण लाइन बिस्तार हुन नसक्दा स्थानीय बासिन्दाले चमेलियाको बिजुली बाल्न नपाएका हुन ।

सात करोड रुपैयाँमा दार्चुलाको महाकाली नगरपालिका–७ लाथिगाडमा सब–स्टेशन निर्माण भइरहेको छ । यो सब–स्टेसनबाट वरिपरिका वस्तीमा विद्युतिकरण हुनसकेमात्रै दार्चुला तथा बैतडीका बासिन्दाले चमेलियाको बिजुली उपयोग गर्न पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!