‘पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा’, १६ मिटर दरार विस्थापित हुन बाँकी

Posted on: 26 Apr, 2018

वैशाख १३, ललितपुर | २०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य फेला पारेको जानकारी अन्नपूर्णलाई दिए । चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । सेटेलाइट तस्बिरबाट भूकम्पले उठाएको भूभाग पत्ता लगाएर दरार क्षेत्र अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययनअनुसार भूकम्पका सम्भावनाबारे वैज्ञानिकमै मतभेद आए पनि यस अध्ययनले पूर्वमै जोखिम देखाएको दाबी चम्लागाईंको छ । झापाको दमकदेखि उत्तरतिर रहेको बेलडाँगीलाई आधार मानेर पूर्वक्षेत्रको अध्ययन गरिएको हो । अध्ययनले करिब आठ सय वर्षपहिले पूर्वमा महाभूकम्प गएको र यस क्षेत्रमा अझै १६ मिटर दरार विस्थापित हुन बाँकी रहेको पत्ता लगाएको बताएको छ ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिले महाभूकम्प गएको थियो ।

त्यस्तै, त्रिवेणी र बाग्मतीलाइ मध्यक्षेत्रमा राखेर अध्ययन गरिएको र यस क्षेत्रमा ११ मिटर दरार विस्थापित हुन बाँकी रहेको देखिएको छ । त्यस्तै, पश्चिममा १० मिटर बाँकी छ । ‘पश्चिममा १५०५ सालमा महाभूकम्प गएको अध्ययनले देखाएको छ,’ चम्लागाईंले भने । यसअघिको अध्ययनले नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिम देखाएको थियो ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिला महाभूकम्प गएको थियो । - अन्नपूर्ण पोष्टबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!